कालिकोटमा कराैडाैँ रकम खर्चिएका लिफ्ट खानेपानी याेजना अधुरै

चैत ७, कालिकाेट । नेपाल सरकार र दातृ निकायको सहयोगमा पानीको अभाव भएका कालिकोटका दुर्गम गाउँहरूमा सोलार लिफ्टबाट खानेपानी र सिचाई योजना सञ्चालन भएकोमा २०७९ साउनयता आधा दर्जन ठुला लिफ्ट योजना बन्द भएर अलपत्र परेका छन् । करोडाैं रकम खर्च गरेर निर्माण गरेका योजना मर्मत गरेर सञ्चालनमा ल्याउन कसैले चासो नदिदाँ बन्द भएका हुन् ।

कालिकोटका उच्च तथा सुख्खा भागहरूमा खानेपानी र सिचाई समस्या समाधानका लागि निर्माण गरेको आधा दर्जन बढी लिफ्टहरूले काम गर्न छाेडेका छन् । सोलार सिस्टमबाट सुख्खा पहाडी वस्तीहरूमा खानेपानी सुविधाको लागि बनाएका लिफ्ट बन्द हुन थालेपछि स्थानीयहरू चिन्तित भएका छन् । जसका कारण विगतमा झै खानेपानीकै कारण घण्टौं समय खर्चनुपर्ने र सिंचाईका लागि वर्षात कुर्नुपर्ने स्थानीयको दैनिकी बनेको छ ।

कालिकोटको खाँडाचक्र नगरपालिकामा निर्माण भएका २ वटा लिफ्ट बन्द भएका हुन् । पानीका मुहानबाट डाँडाँमा रहेका बस्तीहरूमा सिंचाइका लागि पानिकाे अभाव नहाेस र खानेपानी सुविधा पुर्‍याउने उद्देश्यले निर्माण भएको लिफ्ट प्रविधि बन्द हुँदा असफल भएको हो ।

कर्णाली प्रदेशको कृषि मन्त्रालय अन्तर्गतको १ करोड, लागतमा तयार गरीएको खाँडाचक्र नगरपालिका–२ को थामकोट लिफ्ट सिँचाइ योजना, खाँडाचक्र नगरपालिका–७ को तलसेरी लिप्ट सिँचाइ योजना हाल बन्द छ । यस्तै महावै गाउँपालिका–६ को रानीपाटा लिप्ट सिचाई योजना पनी अहिले बन्द छ ।

गाउँमा लिप्ट सिँचाइ बन्द भएपछि गाउँमा समस्या थपिएको महावै गाउँपालिका ०६ की गंगा शाहीले बताइन् । ४० लाखमा तिन वर्षअघि तयार गरिएको सान्नीत्रिवेणी गाउँपालिकाको सान्तीघाटमा रहेको लिप्ट सिँचाइ योजना पनी बन्द छ । वर्षासँगै आएका पानीले सबै बगाएपछि कालिकोटका लिफ्ट सिंचाइहरु अहिले अलपत्र परेका छन् ।

जिल्लामा लिफ्ट योजना असफल भइरहँदा पनि संघीय सरकारले करोडौं लागतका ठूला लिफ्ट योजना निर्माण गर्न रोकेको छैन जसका कारण प्राविधिक र भौगोलिक अवस्था पहिचान नगरी बनाइएका यस्ता योजनाले राज्यको करोडौ रकम बर्सेनि खोलामा बगेको छ । कर्णाली प्रदेशको कृषि मन्त्रालयबाट विनियोजित रकम अनुसारको सबै लिफ्ट सिँचाइ अलपत्र परेका छन् ।

‘जिल्लाभित्र सञ्चालित लिफ्ट खानेपानी असफल भए । अब सरकारले लिफ्टभन्दा स्थानीय मुल सुधार कार्यक्रम ल्याउनुपर्छ ।’ हिउँद लाग्नबित्तिकै कालिकोटका ५ वटा पालिकामा खानेपानीको हाहाकार हुने गरेको छ । यस क्षेत्रका स्थानीयले खानेपानी र सिँचाइ अभाव भोगेको वर्षौ बित्दा पनि स्थानीय सरकारले केहि नगरेकाे र सोलार लिफ्ट खानेपानी तथा सिँचाइ योजना बन्द हुँदा पनि स्थानीय सरकारले कुनै चाँसाे नराखेको स्थानीयले गुनासाे गरेका छन् ।

योजना बन्द हुँदा केही महिना खुसी भएका स्थानीय पुरानै दुःखमा फर्किएका छन् । लिफ्टबाट खानेपानी नआउँदा अहिले स्थानीय खोला र कुवामै खानेपानीको जोहोका लागि धाउने गरेको महावै गाउँपालिकाकी गंगा शाहीले बताइन् ।

स्थानीय पालिकाको सानो बजेटले ठूला योजनाहरूमा रकम अभाव हुने भएकाले मर्मत हुन नसकेको सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले बताइन् ।