कालिकोटमा ५ केजि नुन लिन २५०० खर्च गर्नुपर्ने

चैत २, कालिकोट | जिल्लाकाे नरहरिनाथ गाउँपालिका–४ रुप्साका गणेश बुढा बुधबार कालिकोटको खाँडाचक्र नगरपालिका–१ मान्म रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कार्यालयमा नुन लिन आए। उनलाई कार्यालयले अहिले अभाव रहेको भन्दै जम्मा पाँच किलो नुन दियो ।

बुढालाई नरहरिनाथ गाउँपालिकाबाट मान्म बजारसम्म नुन लिन आउँदा तीन हजार भन्दा बढी खर्च लाग्यो। नरहरिनाथ गाउँपालिकाबाट मान्म आउन जान दुई दिन लाग्छ। बुढाले नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गसम्मको पाँच सय गाडी भाडा तिरे।

त्यहाँबाट मान्मसम्म तीन सय थप गाडी भाडा तिरे। ‘ ‘पाँच किलो नुनको ४५ रुपैयाँ पर्छ । मान्मसम्म आउँदा–जाँदा मेरो करिब दुई हजार ५०० रुपैयाँ खर्च भयो,’ उनले भने।

जिल्लामा एउटा मात्र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड हुँदा टाढा–टाढाबाट आउने उपभोक्ताले पाँच किलो नुनका लागि हजारौं खर्च गर्नुपर्ने बाध्यता रहेको नरहरीनाथ–१ की जुनिता भाण्डाराले बताईन्। उनले भनिन् ‘नुन लिन आउदा एक जनालाई पाँच केजीमात्र दिने गरेको छ। धेरै परिवार भएको घरमा पाँच केजी नुन कम हुन्छ। एक महिनामा सकिन्छ । फेरी आउन २५०० खर्च गर्नुपर्छ।’ एकैपटक ५० केजीको बोरामा नुन लिने मनसाए गरेकी उनी पाँच केजी नुन लगेर र्फकन परेको सुनाउन्छीन्।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालय कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म बजारमा मात्र छ। कालिकोटमा आयोडिनयुक्त एक किलो नुनको नौ रुपैयाँ पर्छ।

जिल्लामा नुनको अभाव भएका कारणले जिल्लाका सबैलाई पाँच किलो दिने गरेको साल्ट ट्रेडिङ कालिकोटका प्रमुख डम्बर बुढाले बताए। उनले नेपाल सरकाको अर्थमन्त्रलयमा बजेट अभाव भएको जनाउदै अहिले जिल्लामा रहेको नुन आगामी दसै सम्म पुगाउनुपर्ने भएकाले कम दिने गरेको बताए।

कार्यालयका अनुसार केही दिन पहीले नुनको अभाव हुँदा डिपो नै बन्द गरिएको थियो। अहिले केही नुन आउँदा उपभोक्ताको दूरी हेरर दिने गरिएको छ। जिल्लामा दैनीक ५०–६० जना नुन लिन आउने गरेका छन्।

जिल्लाको रास्कोट नगरपालिका बाहेकका दुर्गम पालिकाका नागरिकले नुन ल्याउन जिल्लामै पुग्नुपर्ने बाध्यता छ। तिलागुफा नगरपालिका,महावै गाउँपालिका,पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकाबाट नुन खरिद गर्न आउने उपभोक्ताले महँगो खर्च गर्ने गरेका खाँडाचक्र नगरपालिकाकी मुना चौलागाईले बताईन्।

उनले भनिन् जिल्लामा हरेक वस्तुको अभाव देखाएर दुःख दिने काम भएको छ। उपभोक्तालाई सहज रुपमा नुन उपलब्ध गराउनु पर्ने र सबैलाई एकैनासले नुन वितरण गर्नपर्ने बताईन्।