३५ तोला सुन प्रकरणका डिएसपी ठगबहादुर केसी कार्वाहीका लागि सिफारिस

३५ तोला सुनसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका पूर्व डिएसपी ठगबहादुर केसीलाई छानबिन समितिको सिफारिसमा कारबाही हुने भएको छ । एसएसपी चन्द्रकुबेर खापुङको संयोजकत्वमा गठित समितिले आइतबार केसीको गल्ती उजागर गर्दै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाएको थियो ।

मंसिर ११ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले केसीको निवासबाट ३५ तोला अघोषित सुन बरामद गरेको थियो । बुटवलको सुन पसलबाट तस्करीको आरोपमा सुन बरामद गर्दा उचित प्रक्रिया नपुगेको छानबिन समितिले देखाएको छ ।

समितिले निलम्बनमा रहेका केसीलाई कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ । साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही घटनामा आफ्नै अनुसन्धान गरिरहेको छ । सुन अवैध पाइएमा राजस्व कार्यालयमा बुझाइनेछ भने वैध ठहरिएमा हकधनीलाई फिर्ता गरिने छ ।