घामबाट अनुहारको छालालाई कसरी जोगाउने

गर्मी मौसम बढे सँगै हाम्रो छालामा विभिन्न समस्याहरु देखा पर्न सक्छन् । विशेष गरी हामीले हाम्रो अनुहारको छालालाई ध्यान दिन पर्दछ । गर्मी दिनहरुमा बाहिर निस्कदा छालाको सुरक्षाका लागि विशेष उपायहरु अपनाउनुपर्ने हुन्छ ।

चर्को घामले मानिसको छालामा विभिन्न एलर्जी हुनुका साथै छाला कालो हुन्छ । बढ्दो प्रदूषण र धुवाँधुलोका कारण छालामा समस्या देखिन्छ । प्रदूषणका कारण छालामा दाग आउने, डन्डिफोर आउने समस्या देखिन सक्छ ।

चर्को घाममा धेरै हिँड्दा छाला सुक्खा हुने, रातो हुने, फुस्रो हुने, डढ्ने हुन सक्छ । तसर्थ, हामीले घरबाहिर निस्कँदा बडीलोसन, सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्छ । जसकारण घामले छाला डढ्न पाउँदैन । अनुहारको छालाको सुरक्षाका लागि सकेसम्म सनग्लास र मास्क प्रयोग गर्नुपर्छ । सकेसम्म घरबाट बाहिर निस्कँदा छाता प्रयोग गर्दा अझ राम्रो हुन्छ ।

हामीले सनस्क्रिन लगाउने तरिका पनि जान्नुपर्छ । हामी घरबाट निस्कने वेला मात्रै सनस्क्रिन लगाउँछौँ । तर, घरबाहिर निस्किनुभन्दा १० मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ । हामीले दुई-तीन घन्टा घरबाहिर भएपछि फेरि सनस्क्रिन लगाउनुपर्छ । यसो गर्दा छाला जोगिन्छ ।

आफ्नो छाला कस्तो प्रकारको हो भन्नेबारे छुट्याएर मात्र सनस्किन क्रिम वा लोसन प्रयोग गर्नुपर्दछ । शरीर नुहाएपछि मस्चराइजर क्रिम लगाउनुपर्छ । राति सुत्ने वेला अनिवार्य मस्चराइजर क्रिम लगाउनुपर्छ ।