
फागुन २७,कालिकोट । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभा कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित सुनथराली विमानस्थलमा हुने भएको छ । कार्यक्रममा उपस्थित सबै पत्रकारहरुलाई महासंघ कालिकोट शाखाको आतिथ्य सत्कार तथा प्रादेशिक कार्यसमितिले न्यानो आतिथ्यता प्रदान गर्ने नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले प्रतिबद्धता समेत जनाएका छन् ।

चैत १८ र १९ गते हुने साधारण सभाको उद्घाटनमा कर्णाली प्रदेशका मुख्यमन्त्री, केन्द्र सरकारका सञ्चारमन्त्री, प्रदेश सरकारका मन्त्री, राष्ट्रिय पार्टीका प्रमुख तथा प्रतिनिधि, प्रदेशका प्रतिनिधि तथा सदस्यहरु, प्रदेश सभा, कालिकोटका स्थानीय तहका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुखहरुको सहभागिता रहनेछ । ।
आफ्नो पहिचान, भाषा, संस्कृति र पर्यटकीय स्थलको प्रवद्र्धन र प्रदर्शनी गर्न महासंघको साधारणसभा पहिलो पटक कालिकोटमा हुन लागेको हो । २०४२ सालमा निर्माण सुरु भएको कालिकोटको पहिचान बोकेको सुन्थराली विमानस्थलमा कार्यक्रम हुने भएको छ । विमानस्थल निर्माण गर्ने क्रममा माओवादी सशस्त्र द्वन्द्वमा चपेटामा परी ३६ जना मजदुरले आहुति दिनुपरेको विमानस्थलमा साधारणसभा आयोजना गर्ने निर्णयले कालिकोटबासी खुसी भएका छन् ।

महासंघको साधारण सभा सम्पन्नका लागि जिल्ला समन्वय समिति र कालीकोट जिल्लाका ९ वटै स्थानीय तहले ऐक्यवद्धता जनाएका छन् । साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने महासंघका महासचिव खगेन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार साधारण सभामा महासंघका १० जिल्ला शाखा, १० प्रदेश कार्यसमिति गरी ३ सय भन्दा बढी सदस्यको सहभागिता हुने छ ।
साधारणसभाका लागि आर्थिक दायित्व प्रदेश समितिले लिएको छ । महासंघले साधारणसभा सफल पार्नका लागि तीन तहका सरकारसँग आर्थिक सहयोगका लागि समेत अनुरोध गरेको महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेशकञ्चन भारतिले जानकारी दिए ।
महासंघको साधारण सभा सम्पन्न गर्नका लागि स्थानीय सरकारको समेत दायित्व बोध हुने भएकोले कालीकोटका स्थानीय तहसँग आर्थिक सहयोगका लागि अनुरोध गरेको कोषाध्यक्षले बताए ।
करिव ४ दशकदेखि निमार्ण हुन नसकेको सुनथराली विमानस्थलको निमार्ण कार्य भर्खरै सम्पन्न भएको छ ।

साधारणसभामा आउने सदस्यहरुलाई खान र बस्नको व्यवस्था नरहरिनाथ गाउँपालिकाले गर्ने भएको छ ।
‘हामीसँग शहरमा जस्ता अत्याधुनिक होटल छैनन्, तर हामीसँग न्यानो आतिथ्यता हुनेछ ।’ अध्यक्ष विष्टले भनेका छन्, ‘तसर्थ यहाँ स्तरीय सुविधा भन्दा पनि नरहरीनाथको वास्तविकता हेर्न, बुझ्न, यहाँको पर्यटकीय देखि कृषि क्षेत्र सम्मको अवस्था र नागरिकको अवस्थाबारेमा पत्रकार साथीहरुले जानकारी लिई गाउँपालिकाको उन्नयनमा टेवा पुग्ने अपेक्षा हामीले गरेका छौं अध्यक्ष बिष्टकाे भनाई छ ।’