विभिन्न कार्यक्रम गरी गुराँस गाउँपालिकाले मनायो स्थापना दिवस

फागुन २७, दैलेख । दैलेखको गुराँस गाउँपालिकाले फागुन २७ गते विविध कार्यक्रम गरी पालिका स्थापना दिवस मनाएको छ । नेपालको संविधानले परिकल्पना गरेको संघीय शासन प्रणाली बमोजिम स्थानीय तह स्थापना भएको घोषणासँगै गाउँपालिकाले पहिलो पटक स्थापना दिवस मनाएको हो ।

दैलेख जिल्ला समन्वय समितिका प्रमुख नामराज शाहीको प्रमुख आतिथ्यता स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको छ । स्थापना दिवस कार्यक्रमका सभा-अध्यक्ष तथा गुराँस गाउँपालिका प्रमुख टोप बिसीले कार्यक्रम सम्बोधन गर्दै निर्वाचित भई पदभार ग्रहण गरेपछि आफूले हालसम्म गरेका काम अद्यावधिक गर्नुका साथै भावी योजना र नयाँ भूमिकाको वरपरका चुनौति, अभाव, समस्या, अवसर र उत्साहका बारेमा चर्चा गरेका थिए । उनले निर्वाचित भएयता पालिकामा गरेका शासकीय सुधार र गुराँसको मुहार फेर्न आफूले गरेको प्रतिबद्धतालाई पनि प्रकाश पारे ।

प्रमुख अतिथि नामराज शाहीले कार्यक्रमको उद्वघाटन गरेपछि गाउँपालिकाका उपाध्यक्ष शिव खड्काले जनताको प्रतिनिधि भएर काम गर्ने अवसर पाएको कृतज्ञता व्यक्त गर्दै आगामि दिनमा आफ्नो भुमिकालाई थप उजागर गरिन् । स्थापना दिवसको अवसरमा विभिन्न जन प्रतिनिधिहरुले आफ्नो छोटो कार्यकालमा हासिल गरेका कामको समीक्षा गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले स्थापना दिवसको औचित्य र उद्देश्यबारे प्रकाश पार्दै समुदाय र स्थानीय सरकारका लागि यो अवसरको महत्व बताए ।

पूर्व जनप्रतिनिधिहरुलाई सम्मान पत्र वितरण, पालिका स्तरीय लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी, उत्कृष्ट उद्यमीहरुलाई पुरस्कार वितरण लगायतका कार्यक्रमहरु दिनभर सम्पन्न भएका थिए । सहभागी प्रमुख अतिथिहरुले साना उद्यमीहरुले उत्पादन गरेको सामाग्रीहरुको अवलोकन गर्नुका साथै प्रथम,दृतिय र तृतीय हुने उद्यमीहरुलाई पालिकाले सम्मान-पत्र तथा पुरस्कार वितरण गरेको थियो ।

साथै पालिकाको मुहार फेर्न शासकीय सुधारको नारा बोकेर होमिएको गुराँस गाउँपालिकाले स्थापना दिवसको अवसर पारेर पालिकाका दर्ता चलानी,सिफारी पत्र, विधुतिय हाजीरी, योजना जस्ता सेवाहरूलाई डिजिटलाइज गरेको छ । अब, गुराँसका जनताले अनलाइन मार्फत छिटो र चुस्त ढङ्गले दर्ता चलानी,सिफारी पत्र, विधुतिय हाजीरी, योजना जस्ता सेवाहरू अनलाइन मार्फत लिन सक्नेछ्न् ।

सोही अवसरमा नगरपालिकाले फागुन २६ गते आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता र खुल्ला बुद्विचाल प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

गुराँस गाउँपालिकामा कार्यरत महिला सशक्तिकरण मञ्च नेपाल, दैलेख, सोसेक नेपाल दैलेख, सेभ द चिल्ड्रेन दैलेख, हेल्भाटास नेपाललगायतका विभिन्न संघसंस्थालाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा विभिन्न निकाय तथा दलका प्रतिनिधिहरुले नगरपालिकाको काम, कर्तव्य र जिम्मेवारीप्रति आ–आफ्नो भूमिकाको प्रकाश पार्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए । स्थापना दिवस समारोह स्थानीय सरकारको कडा परिश्रम र समर्पण र गुराँसका जनताको जीवनस्तरमा सुधार गर्नको प्रतिबद्धताको प्रमाण थियो ।

तस्वीरहरू :