श्री एयरलाइन्सको जहाज क्यानको जाँचपछि मात्रै उडान गर्ने निणर्य


श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्ने निणर्य भएको छ ।

विगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निणर्य भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।

बिहीबारको घटनापछि जहाज निलम्बनमा छ”, प्रवक्ता निरौलाले भने । प्राधिकरणको यो निणर्यपछि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार आजका लागि १४ उडान निर्धारण गरिएकोमा हालसम्म तीन उडान रद्द भइसकेका छन् । प्राविधिक जाँचपछि दिउँसोसम्म बाँकी उडान भर्ने सम्भावना रहेको थियो ।

क्यानको निणर्यबारे हामीलाई आज बिहान साढे सात बजे मात्र जानकारी भयो, बिहीबार साँझसम्म खबर पाएको भए यात्रु व्यवस्थापनमा सहज हुने मानन्धरले बताएका छन् ।

बिहीबार काठमाडौँबाट भैरहवाका लागि उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । श्री एयरलाइन्सका साना-ठुला गरी आठ जहाज छन् । तीमध्ये चारवटा मात्रै सञ्चालनमा छन् ।