जिल्ला अस्पताल जाजरकोटमा औषधीको अभाव

फागुन २१, जाजरकोट । जाजरकोटको जिल्ला अस्पतालमा औषधीको अभाव भएको छ ।

कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट जिल्ला अस्पतालमा एक महिनादेखि अस्पतालमा औषधीको अभाव भएको हो ।

अस्पतालमा औषधी नहुँदा बिरामीहरु समस्यामा परेका छन । दैनिक पुर्जी लिएर औषधी किन्न फार्मेसीमा बिरामी पुगे पनि औषधी नहुँदा बाहिरका पसलमा गएर औषधी खरिद गर्न बाध्य छन ।

नेपाल सरकारले तोकेबमोजिम ९८ प्रकारका औषधी सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । हाल जिल्ला अस्पतालमा २०-३० प्रकारका औषधी मात्र छन ।

उपचारमा केहि राहत होस भनेर बिमा गरेका बिरामीले औषधी अभावका कारण तर मेडिकलमा गएर औषधी किन्नुपरेको भेरी नगरपालिका-४ की २९ वर्षीया सरस्वती विकले बताइन ।

प्रशासनलाई महिना दिन अघि नै औषधी सकिएको जानकारी गराए पनि अहिलेसम्म सुनुवाइ नभएको फार्मेसी विभागका निराजन शाहीले बताए ।

अस्पताल प्रमुख नवराज कँडेलले अस्पतालमा औषधी अभाव भएको र समयमा माग गरिएको औषधी नआउँदा पनि समस्या भएको र यस विषयमा औषधी आपूर्तिका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको बटाए ।