बराहताल–८ को वडा कार्यालयमा तालाबन्दी, राजनीतिक दलहरुद्धारा विरोध


सुर्खेत । बराहताल गाउँपालिका वडा नं. ८ को कार्यालयमा गरिएको तालाबन्दीले कार्यसम्पादनमा बाधा भएपछि वडामा क्रियाशील राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । कार्यालयमा तालाबन्दी गरेर जनतालाई सेवा पाउने अधिकारबाट वञ्चित गरिएको भन्दै राजनीतिक दलका प्रतिनिधिहरुले तत्काल ताला खोल्न ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेस वडा कार्यसमितिका सभापति फक्तबहादुर गौतमको अध्यक्षतामा आइतवार बसेको सर्बदलीय बैठकले तालाबन्दी समस्याको समाधान नभएको भन्दै त्यस्तो कार्यमा संलग्न नहुने आफ्ना कार्यकर्तालाई सचेत गराए । बैठकमा नेकपा एमाले वडा कमितिका सचिव छविलाल गौतम, नेकपा(माओवादी केन्द्र)का वडा अध्यक्ष रत्नबहादुर आले, राप्रपाका वडा अध्यक्ष टेकबहादुर शाही, नेमकिपाका वडाअध्यक्ष रेशमबहादुर शाही, नेकपा(एकीर्कत समाजवादी)का गाउँपालिका सचिव वीरबहादुर अधिकारीलगायतको सहभागिता रहेको थियो ।
बराहताल – ८ को वडा कार्यालय हाल अर्को वडाबाट सञ्चालन हुँदै आएको छ । वडा नं. ५ बड्डीचौरमा रहेको कार्यालयलाई नविनिर्वाचित जनप्रतिनिधिले आफ्नै वडामा सार्न खोज्दा विवाद सिर्जना गरिएको छ । सोही विवादमा जेठ १७ गते वडा कार्यालयमा तालबन्दी गरिएको हो । कार्यालयमा तालाबन्दी भएपछि वडाको सेवा प्रवाह प्रभावित भएको छ । नागरिकहरु कार्यालयमा आएर फर्किन बाध्य भएका छन् । वडाअध्यक्ष केशरबहादुर कार्कीले कार्यालयमा ताला लागेका कारण नागरिकलाई सेवा दिन नसकिएको जनाए । छलफलमार्फत विवाद समाधान गर्नुपर्नेमा तालाबन्दी गरेर आम नागरिकलाई नै दुख दिने काम भएको भन्दै उनले ताला खोलेर छलफलमा आउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
विगत पाँच वर्षदेखि वडा नं. ८ को कार्यालय वडा नं. ५ बाट सञ्चालन हुँदै आएकोमा हालै निर्वाचित जनप्रतिनिधिहरुको जेठ १२ गते बसेको बैठकले आफ्नै वडाबाट सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । त्यसपछि एक समूह कार्यालयमा पुगेर तालाबन्दी गरेको थियो । यसका साथै वडा कार्यालय सार्ने निर्णयविरुद्ध गाउँपालिकाको न्याययिक समितिमा समेत उजुरी परेको छ ।
यसैबीच सर्बदलीय बैठकले विवाद समाधानका लागि समन्वय समिति गठन गरेको छ । लालबहादुर शाहीको संयोजकत्वमा २१ सदस्यीय समिति बनाइएको हो । आवश्यक समन्वय र छलफलमार्फत विवाद समाधान गर्न समिति गठन गरिएको संयोजक शाहीले बताए । समितिमा वडामा क्रियाशील सबै राजनीतिक दलका प्रतिनिधि रहेका छन् ।