आजदेखि ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु

नेपाली काँग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दैछ । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य राखेको छ ।

पार्टी प्रवक्ता डा प्रकाशशरण महतका अनुसार स्थानीय निर्वाचनमा काँग्रेस लाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, काँग्रेस का उम्मेदवारहरूलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य छ ।

सो क्रममा केन्द्रबाट निर्धारित अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण गर्ने, सम्पूर्ण कार्यक्रमको कार्यान्वयन गर्न आवश्यक जिम्मेवारी बाँडफाँट गर्ने, अभियानका कार्यक्रम व्यवस्थित बनाउन प्रेरक भूमिका र आवश्यक समन्वय गर्ने, केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरी आफ्नो प्रदेशभित्र अभियानमा आवश्यकतानुसार थप कार्यक्रम तर्जुमा गर्ने र आफ्नो प्रदेशभित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्ने गरी प्रदेश समितिलाई जिम्मेवारी तोकिएको प्रवक्ता डा महतले जानकारी दिए । सबै जिल्लामा एकै दिन, एकै समयमा आइतबार दिउँसो १ बजे एकसाथ जिल्लास्तरीयरूपमा अभियान शुभारम्भ हुनेछ ।