खाने कुरा जमिनबाट उत्पादन गर्नुपर्छ, फ्याक्ट्रीबाट होइन – हमाल

-बिहीबार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई हमालले गरेको सम्बोधनको सम्पादित अंश ।

हामी जति पनि कमाउँछौँ, त्यसको ९८/९९ प्रतिशत त खानेकुरा, लगाउने कुरा र सवारी साधनमै खर्च गरिरहेका छौँ । हामीले विभिन्न परिश्रमबाट आर्जन गरेको कमाइ नै अन्धाधुन्ध खर्च गरिरहेका छौँ । दु:ख गरेर कमाएको खर्च गर्नलाई हामी सावधान त हुन पर्‍यो नि । कस्तो सामग्रीमा हामीले खर्च गरिरहेका छौँ ?

हामी लहैलहै र बहकाउमा लागिरहेका छौँ कि ? आवश्यकता नै हो कि ? हामीले प्रयोग गरिरहेको वस्तुमा कति ध्यान दिएका छौँ ? आज खतराको घण्टी बजी नै सकेको छ तर पनि हामी सचेत भएका छैनौँ । यही परिस्थितिलाई समेट्दै एक जना डाक्टरसाबले मलाई के भन्नु भएको थियो ‘आजकल मान्छे बिरामी हुँदाभन्दा स्वस्थ छ भन्दा आश्चर्य लाग्छ ।’

मान्छे कसरी स्वस्थ छ भन्नेमा आश्चर्य लागिरहेको छ । स्वस्थ रहन भनेर हामीले फलफूल, सागसब्जी र दूधदही मात्र खान्छौँ तर पनि ती कति गुणस्तरीय छन् त ? हामीले खाने सागसब्जी र फलफूलमा पनि विषादी प्रयोग गरिएको छ । ती कुराले पनि हामीलाई पूर्ण स्वस्थ बनाउन सक्दैन । आज हामीले सेवन गरिरहेका चिजबारे हामीलाई नै थाहा छैन । न त त्यो वस्तु कहाँबाट आएको भन्ने कुरा थाहा छ न त त्यो चिज कसले बनायो भन्ने ? हामीले खाने माछामासु कति स्वस्थ छ भन्ने कुरा नै हामीले सरोकार राख्दैनौँ । हामीले खाने चिजको स्रोत त थाहा हुनुपर्‍यो नि । अहिले हामी आकर्षित विज्ञापनका नाममा गुणस्तरहीन वस्तु उपभोग गरिरहेका छौँ ।

आकर्षित प्याकेजिङमा होस्, चाहे आधुनिकताको नाममा होस् हामी बहकिएका छौँ । हामी आधुनिकताको नाममा यसरी बहकिएका छौँ कि, हामीले उपभोक्ताको हिसाबले के गर्नुपर्छ भन्ने कुरा नै बिर्सिसक्यौँ । उदाहरणका लागि आकर्षक र्‍यापरमा आउने चिप्सलाई नै लिऔँ न । हामीले भित्र हुने चिप्सलाई भन्दा खोललाई बढी पैसा तिरिरहेका छौँ । उत्पादकहरूले पनि वस्तुलाई भन्दा प्याकेजिङमा नै धेरै खर्च गरिरहेका छन् । हामी सबै आधुनिकताका नाममा उपभोक्तावादमा फसिरहेका छौँ ।

अब हामीले उपभोक्ताका रूपमा कसरी सचेत हुने भन्नेबारे सोच्नैपर्ने भएको छ । यसका हरेक व्यक्तिले निर्णय लिनुपर्ने भएको छ । अन्त्यमा सरकारले पनि यसबारेमा निर्णय लिनेछ । हामीले स्थानीय उत्पादित खानेकुरालाई जोड दिनुपर्छ । मान्छेले खाने कुरा नि फ्याक्ट्रीबाट उत्पादन गर्ने हो र ? मान्छेले खाने चिज त जमिनबाट उत्पादन गर्नुपर्छ ।