व्यापार घाटा बढेको बढ्यै छ, सरकारले रेल-वे बनाउन सक्दैन – प्रधानमन्त्री देउवा

चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवा

काठमाडौँ | प्रधानमन्त्री देउवाले सरकारको व्यपारघाटा बढि भएका कारण अहिले नेपाल सरकार आफैँले रेल-वे निर्माण गरी रेल सेवा सञ्चालन गर्न नसक्ने बताएका छन् । नेपालको व्यपारघाटा बढिरहेका कारण तत्काल रेल-वे विस्तार गर्न नसकिने बताएका हुन् ।

विश्व बैंकको सहयोगमा निर्माण चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर सरकारले रेल-वेमा लगानी गर्न सक्ने बताए ।

‘यहाँ कुरा आयो, रेल त आवश्यकता छ । तर त्यो धेरै खर्चिलो हुन्छ । अहिले हाम्रो व्यापार घाटा बढेको बढ्यै छ, यस्तोमा हामी आफैँले रेल-वे निर्माण गर्न सक्ने अवस्था छैन । फेरि त्यो एकदमै महँगो हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले यसमा ध्यान पुर्‍याउनुपर्ने अवस्था छ । नत्र कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेल-वे बनाउन सकिन्छ । त्यो भयो भनेमात्रै फाइदाजनक हुनसक्छ ।’

प्रधानमन्त्री देउवाले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ र स्वदेशी सीपको प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । उनले चोभार सुख्खा बन्दरगाह निर्माणले मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गर्दै अन्य ठाउँहरूमा समेत सुख्खा बन्दरगाह निर्माण गर्नमा जोड दिने बताए ।