स्वास्थ्यका लागि डार्क चकलेटको अचुक फाइदा र गुणहरु

डार्क चकलेटले मुटु र मस्तिष्क मात्र नभई समग्र स्वास्थ्यका लागि रामबाण उपाय हो । यसको सेवनले दिमागलाई चाडै खुशी र सक्रिय बनाउछ । यस चकलेटमा भरपुर पोषक तत्वहरु पाइन्छ । यसमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट र मिनरल्स पाइन्छ ।

डार्क चकलेटले स्वास्थ्य सुधार गर्न सक्ने कयौँ अध्ययनहरूले देखाएका छन् । यसले मुटुसम्बन्धी रोग लाग्ने खतरा पनि कम गर्न सक्छ । अन्य चकलेटको तुलनामा यसमा बढी कोको हुन्छ अनि चिनी कम हुन्छ । मिल्क चकलेटको तुलनामा यो निकै फाइदाजनक र कम गुलियो हुन्छ ।

१०१ ग्रामको डार्क चकलेट बारमा ६०४ क्यालोरी हुन्छ । अमेरिकी कृषि मन्त्रालयको कृषि अनुसन्धान सेवाका अनुसार सो परिमाणको डार्क चकलेटमा ७ दशमलव ८७ ग्राम प्रोटिन, ४३ दशमलव शून्य ६ ग्राम चिल्लो, ११ ग्राम फाइबर, १२ दशमलव शून्य २ मिलिग्राम आइरन, २३० मिलिग्राम म्याग्नेसियम र ३ दशमलव ३४ मिलिग्राम जिङ्क पाइन्छ ।

डार्क चकलेट सेवनका अनेक फाइदा छन् । यसले मुटुसम्बन्धी कयौँ ठुला जोखिम कम गर्छ । यीमध्ये एउटा कोलस्ट्रोल पनि हो । फ्लेभेनल लाइकोपिन भरपुर मात्रामा पाइने भएकोले यसले कोलस्ट्रोल, एलडीएल (ब्याड) कोलस्ट्रोल र ट्राइग्लिसराइड्सको स्तर कम गर्छ । यसमा पाइने तत्त्वहरूले शरीरलाई एडीएलबाट सुरक्षा दिन्छ । यसका कारण मुटुसम्बन्धी रोगको खतरा कम हुन्छ ।

छालाको लागि राम्रो

डार्क चकलेटमा पाइने बायोएक्टिभ तत्त्वले छालाको लागि निकै राम्रो हुन्छ । यसमा पाइने फ्लेभनल्सले घामको किरणबाट हुने क्षतिबाट छालालाई जोगाउँछ । छालामा रगतको प्रवाहमा सुधार ल्याउन सक्छ र छालालाई कसिलो र हाइड्रेट राख्न पनि मद्दत गर्छ ।

तनाव कम गर्न मद्दत

डार्क चकलेट तनाव कम गर्न प्रभावकारी हुन सक्छ । यसलाई खाँदा मुड राम्रो हुन्छ । यसमा पाइने तत्त्वले तनाव उत्पन्न गराउने कर्टिसोल हर्मोनलाई नियन्त्रित गर्छ ।

मधुमेहमा लाभदायक

मधुमेहमा चकलेटको सेवन सुन्दा अनौठौ लाग्न सक्छ । तर कयौँ अध्ययनमा भने डाक्टरको निर्देशनमा ठिक्क मात्रामा कोको धेरै भएका डार्क चकलेट खानु मधुमेहका बिरामीका लागि फाइदाजनक हुन सक्ने बताइएको छ । यसमा पाइने तत्त्वहरूले शरीरमा ग्लुकोजलाई मेटाबोलाइज गर्छ । इन्सुलिन प्रति शरीरको संवेदनशीलता सुधार्छ र इन्सुलिन रेसिस्टेन्स कम गर्छ र मधुमेहजस्ता रोगको खतरा पनि घटाउँछ ।