गर्मीमा खानेकुरामा हुने समस्या र समाधानका ६ टिप्सहरु

देशभर गर्मी मौसम सुरुभए संगै तापक्रम बढ्ने क्रममा छ । तापक्रम बृद्धिका साथै खाद्यवस्तुजनित रोगहरूका घटना पनि क्रमशः बृद्धि हुदै जान्छन किनभने चिसो मौसमको तुलनामा न्यानो तापक्रममा हानिकारक सूक्ष्म जीव/ब्याक्टेरियाहरू (जस्तैः साल्मोनेल्ला, इ. कोलाइ) छिटो बढ्ने क्षमता राख्छन । खुला हावा, असुरक्षित वातावरणमा लामो समयसम्म प्रशोधित खाद्य पदार्थ राख्दा खाद्यान्न बिग्रने सम्भावना बढ्छ । त्यसकारण गर्मी महिनामा घरभित्र वा बाहिर हामीले प्रशोधित खाना/खाजा खाँदा खाद्य स्वच्छतामा विशेष ध्यान दिन जरूरी छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत खाद्य अनुसन्धान अधिकृत अनुसार गर्मीमा असुरक्षित खाद्यको प्रयोगबाट सिर्जित समस्याहरू जस्तै झाडापखाला, पेट दुख्ने, वाकवाकी लाग्ने, अपच हुने, टाउको दुख्ने, ज्वरो आउने, फूड पोइजनिङ हुने लगायत समस्याबाट सुरक्षित रहन निम्न सावधानीहरू अपनाउन सकिन्छ ।
उपयुक्त तापक्रममा सञ्चय/भण्डारण गर्ने
खाद्य पदार्थहरूको लागि सामान्यतया ५ देखि ६० डिग्री सेल्सियसको तापक्रमलाई ‘डेन्जर जोन’ भनिन्छ जुन तापक्रममा रोगकारक ब्याक्टेरियाहरू आरामले वृद्धि हुनसक्छन्। त्यसैले सकेसम्म गर्मी वातावरणमा सजिलै बिग्रने उत्पादनहरू जस्तै माछा, मासु, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी र प्रशोधित खाद्य पदार्थहरूलाई चिसो तापक्रम/फ्रिजमा राख्नुपर्छ।

पकाइएका खाद्य पदार्थहरूलाई दुई घण्टा भन्दा बढी नचिस्याई सामान्य तापक्रममा राख्न हुँदैन र सो समयभन्दा बढी समय ‘डेन्जर जोन’ मा राखिएका खाद्य पदार्थ खान वा प्रयोग गर्नुहुँदैन।

सरसफाइमा विशेष जोड दिने
गर्मीमा खाना दूषित हुनबाट जोगाउन जाडोको तुलनामा धेरै स्वच्छता अभ्यासहरू पालना गर्नुपर्छ। खाना पकाउन सुरु गरेदेखि बाँकी रहेको खाना फाल्ने कार्य गर्दासम्म सबै चिजहरू सफा राख्न आवश्यक छ।

आफ्नो हात राम्ररी र बारम्बार धुने, खाना पकाउन प्रयोग गर्नुभन्दा पहिले तपाईंले खाना पकाउन प्रयोग गर्नुभएका सबै भाँडाहरू धोएर मात्रै प्रयोग गर्ने, प्रशोधित खानाहरू एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्दा सकेसम्म धोएको, हावा नछिर्ने कन्टेनरहरूको प्रयोग गर्ने, काँचो फलफूल र तरकारीहरूलाई खान अघि सधैं धोएर मात्रै खाने जस्ता असल अभ्यासहरू गर्न आवश्यक हुन्छ ।

क्रस कन्टामिनेसन नगर्ने
खाना तयार गर्ने क्रममा हाम्रो लापरवाहीको कारणले हानिकारक सूक्ष्म जीवहरू एउटा खाद्य पदार्थबाट अर्को खाद्य पदार्थमा चपिङ बोर्ड, अन्य भाँडाकुँडाको माध्यमबाट सर्नुलाई ‘क्रस कन्टामिनेसन’ भनिन्छ ।
क्रस कन्टामिनेसन हुन नदिन विशेषगरी पकाइएको र नपकाइएको खाद्य वस्तुहरू छुट्टाछुट्टै राख्ने, नपकाइएको माछा तथा मासु जस्ता खाद्यहरू जसमा हानिकारक सूक्ष्म जीवहरू सजिलै वृद्धि हुनसक्छन तिनीहरूलाई छुट्टाछुट्टै राख्ने, नपकाइएको खानाको लागि प्रयोग गरिने चक्कु, चपिङ बोर्ड, चम्चा जस्ता सामग्रीहरू छुट्टै प्रयोग गर्ने, पकाइएको र नपकाइएको खाद्य वस्तुहरूलाई नमिसिने गरी छुट्टाछुट्टै भाँडोमा राख्ने, फ्रिजमा पनि सकेसम्म पकाइएको र नपकाइएको खाद्य वस्तुहरूलाई छुट्टाछुट्टै खण्डमा छोपेर राख्नुपर्दछ ।

स्ट्रीट फूड खाँदा विशेष सावधानी अपनाउने
नेपालीमा स्ट्रीट फूड हालसम्म व्यवस्थित नभए पनि नेपालीहरूमाझ निकै लोकप्रिय छ, विशेषगरी बालबालिका, युवा तथा महिलाहरूको सडक छेउमा बेचिने पानीपुरी, चाट, चटपटे, ससेज, मोमो, थुक्पा जस्ता खाद्य पदार्थमाथि निकै मोह छ ।
नेपालमा स्ट्रीट फूड बिक्रेताले सफा पानी, कच्चापदार्थ, सफा भाँडाकुँडा विरलै प्रयोग गरेको देखिन्छ जसले गर्दा खाद्य स्वच्छताका सम्बन्धमा निकै जोखिम रहेको सजिलै अनुमान गर्न सकिन्छ ।

त्यसैले गर्मी महिनामा स्ट्रीट फूड खाँदा बिक्रेताले उचित स्वच्छता मापदण्डहरू कायम गरे-नगरेको, सफा भाँडाहरू, पानी, कच्चापदार्थ प्रयोग गरे-नगरेको जस्ता कुराहरू विचार पुर्‍याइसकेसम्म आफ्नै आँखा अगाडि खाना तयार गर्ने बिक्रेताहरू छनोट गर्नुपर्छ ।

सुरक्षित पानी र खाद्यवस्तुको प्रयोग गर्ने
पानी तथा बरफ लगायतका नपकाई खाइने खानेकुरामा हानिकारक विषादी तथा सूक्ष्म जीव मिसिन गई दूषित भएको हुनसक्छ। जाडोको तुलनामा गर्मीमा पानी र बरफको प्रयोग अत्यधिक हुने भएकोले सुरक्षित पानीको प्रयोग निकै जरुरी छ ।
त्यसैगरी प्रशोधन गरी सुरक्षित गरिएका पाश्चराइज्ड दूध प्रयोग गर्ने, फलफूल र नपकाई खाने तरकारीहरूलाई सफा र सुरक्षित पानीले धुने, उपभोग्य मिति सकिएका खानेकुरा नखाने, ताजा र पौष्टिक खानेकुराको सही छनोटका साथै धुने, ताछ्ने जस्ता सामान्य सुरक्षाका विधिहरू अपनाउन सकेमा खाद्यवस्तुहरू सुरक्षित बनाउन सकिन्छ ।

राम्ररी पकाउने/तताउने
तरकारी, सुप तथा अन्य झोल खाद्यवस्तुलाई तताएर खानुपर्दा ७० डिग्री से. भन्दा बढी तापक्रममा तताउने गर्नुपर्छ किनभने पकाउँदा हानिकारक सूक्ष्म जीवहरू प्रायः सबै मर्छन र सो खाएमा स्वास्थ्यमा हानि नहुने कुरा अध्ययनहरूबाट देखिएको छ । विशेषगरी माछा, मासु तथा अन्डाको झोल जस्ता खानेकुरा, जुन गर्मी महिनामा चाँडै बिग्रन्छ त्यो राम्ररी पकाउने तथा पोलेर, भुटेर तथा कम पकाएर खाने र ठूला आकारका चाँडै नपाक्ने खानाहरूलाई विशेष ध्यान दिन आवश्यक छ ।
यी टिप्सहरुको प्रयोग गरेमा गर्मीयाममा स्वास्थ्य पनि सफा र निरोगी हुन सकिन्छ । यदि तपाइँको खाना केही समयको लागि बाहिर खुला रूपमा छाडिएको छ भने, त्यो पुनः प्याक गर्न र पछि खान मिल्नेगरी सुरक्षित नहुन सक्छ। त्यसैले, गर्मी याममा धेरै लामो समयसम्म घाममा, खुला वातावरणमा छोडिएको कुनै पनि खानेकुरालाई फ्याँक्न पटक्कै नहिचकिचाउनुहोस ।