गर्मी संगै डेंगु र टाइफाइटको संक्रमण बढ्दो


देशभर गर्मी बढेसँगै डेंगु तथा टाइफाइडका बिरामी बढ्न थालेका छन । सामान्यतया यस्ता संक्रमण अन्य मौसमको तुलनामा गर्मीयाममा बढी देखिने गरेका छन । डेंगु रोग लामखुट्टेको टोकाइ बाट सर्ने गर्छ र यो रोग सार्ने लामखुट्टेलाई एडिसएजेप्टी भनिन्छ । यो लामखुट्टे अरु भन्दा फरक खालको हुन्छ । यसकाे टाटेपाटे आवरण देखि नै छुट्याउन सकिन्छ ।
तापक्रम बढ्दै गएपछि फेरि डेंगुका बिरामी रिपोर्ट हुन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएको छ । देशभर सन् २०२३ वर्षभरि नै डेंगुका धेरै बिरामी भेटिएका थिए ।
वैशाखदेखि असोजसम्म मात्रै देशभर ५१ हजारभन्दा बढी जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । मंसिर लागेसँगै जाडो सुरु भएपछि भने डेंगु संक्रमण कम हुँदै गएको थियो । तर, पुनः गर्मीयाम सुरु भएसँगै डेंगुका बिरामी देखिन थालिसकेको इडिसिडीले जनाएको छ ।
इडिसिडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले जनवरीयता छ सयजना डेंगुका बिरामी देखिइसकेका जानकारी दिए ।
डा. दाहालका अनुसार नेपालमा डेंगुको ‘सेरोटाइप–१, २ र ३’ बढी देखिएको पाइएको छ । ‘डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छ,’ डा. दाहालले भने, ‘नेपालमा सेरोटाइप–१, २ र ३ बढी देखिएको छ, सेरोटाइप–४ कुनै–कुनैबेला मात्रै देखिएको छ ।’ डेंगुका १, २, ३ र ४ मध्ये कुन सेरोटाइप कहाँ देखिने भन्ने यकिन भन्न नसकिने डा. दाहालको भनाइ छ ।

पछिल्ला वर्ष गर्मी मौसममा जनस्वास्थ्यको चुनौती बन्दै गएको डेंगु नियन्त्रणका लागि सबै नागरिकले सचेत हुनुपर्ने जनस्वास्थ्यविद्ले जनाएका छन । जनवरी र फेब्रुअरीमा थोरै बिरामी भेटिए पनि त्यसयता बिस्तारै डेंगुका बिरामीको संख्या बढ्दै गएको डा. दाहालले बताए । ‘जनवरीयता ६ सय जति केस रिपोर्ट भयो होला, कुन क्षेत्रबाट केस रिपोर्ट हुने संख्या बढिरहेको छ भन्ने निगरानी गर्न आवश्यक छ,’ डा. दाहालले भने ।

विशेषगरी तापक्रम बढ्दै गएपछि डेंगु सार्ने एडिज लामखुट्टेको संख्यामा वृद्धि भयो भने डेंगु संक्रमण पनि बढ्ने गर्छ । यो लामखुट्टे सफा पानी र १८ डिग्रीभन्दा बढी तापक्रममा सक्रिय हुन्छ ।
पछिल्ला वर्ष जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा एडिज लामखुट्टे सबै मौसममा बाँच्न र फैलनअनुकूल वातावरण बन्दै जाँदा वर्षातको समयमा देखिने डेंगु संक्रमण वर्षैभरि नै देखिन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।
डा. शेरबहादुर पुनका अनुसार गर्मीयाममा डेंगु मात्र नभई फ्लु, टाइफाइडजस्ता रोगका संक्रमणसमेत बढ्दै जान्छन । ‘तापक्रम बढ्दै जाँदा बिस्तारै ज्वरो, टाइफाइड, फ्लु तथा सर्पदंशका बिरामी बढ्न थालेका छन्, गर्मी बढ्दा यस्ता बिरामी अब झनै बढ्ने सम्भावना हुन्छ,’ डा. पुनले भने ।
जाडो मौसमबाट लगत्तै गर्मी मौसममा प्रवेश गर्दा यो समयमा धेरै जना फ्लु संक्रमित हुने जोखिम रहने हुँदा सबैलाई सतर्कता अपनाउन डा. पुन सुझाउँछन् ।
‘यतिखेर मौसमी फ्लुका बिरामी बढेका छन्, धेरैले यस्ता संक्रमणलाई सामान्य स्वास्थ्य समस्या मान्ने गर्नुहुन्छ । तर, पछिल्लो समय यस्ता फ्लुका कडा लक्षण हुने हुँदा धेरै जनालाई गाह्रो बनाइरहेको छ । जसले गर्दा सतर्कता अपनाउनु आवश्यक छ,’ डा. पुनले भने, ‘अब तापक्रम बढ्न थालेपछि हाम्रोमा डेंगुका बिरामी पनि देखिन थाल्छ । सामान्य असावधानीले गर्दा वर्षेनि धेरै मानिस यस्ता संक्रमणबाट प्रभावित हुने गरेका छन् । त्यसैले यस्ता संक्रमणबाट बच्नु नै उत्तम उपाय हो ।’
गर्मीको समयमा बर्सेनि देखिने सरुवा रोग टाइफाइड पनि हो । टाइफाइडको ब्याक्टेरिया मिश्रित पानी वा खानेकुरामार्फत टाइफाइडको संक्रमण फैलन डा.पुन बताउँछन ।
उनका अनुसार टाइफाइड सल्मोनेला टाइफी तथा सल्मोनेला पाराटाइफी ब्याक्टिेरियाको कारणले हुने गर्छ । टाइफाइड भएका कतिपय बिरामीहरू क्लिनिकबाट औषधि किनेर खाने र रोगले कडा रूप लिएपछि मात्र अस्पताल आउने गरेको उनको भनाइ छ ।
रोग लागेर उपचार गराउनुभन्दा पहिले नै स्वास्थ्यमा ध्यान दिन डा. को भनाइ छ । गर्मीयाम सुरुसंगै विभिन्न संक्रमण रोगबाट बच्न उचित पौष्टिक आहार तथा सरसफाइमा ध्यान दिनुपर्ने सुझाव छ ।