पालिका र स्वच्छता परियोजनाले निर्माण गर्यो खानेपानी र शौचालय निर्माण

संयुक्त राज्य अमेरिकी अन्तर्राष्ट्रिय बिकास नियोग नेपालको सहयोगमा संचालित स्वच्छता परियोजना अन्तर्गतको खानेपानी योजना र पहुँचयुक्त (पुरुष, महिला, अपाङ्गता मैत्री) शौचालय निर्माण कार्य सम्पन्न भएको छ ।

सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका वडा नं. ९ स्थित विद्यापुर स्वास्थ्य चौकी तथा चौकुने गाँउपालिका स्थित वडा नं.३ बेतान स्वास्थ्य चौकी र वडा नं. ८ स्थित गुटु स्वास्थ्य चौकीमा खानेपानी योजना र शौचालय निर्माण कार्य सम्पन्न भएको हो । उक्त निर्माण कार्यका लागि स्वच्छता परियोजना र पालिकाको संयुक्त लगानी रहेको नियोगले जनाएको छ ।

विद्यापुर स्वास्थ्य चौकीमा निर्माण कार्यका लागि स्वच्छता परियोजनाको तर्फबाट रु. ११,०३,०२३ र पञ्चपुरी नगरपालिकाको तर्फबाट रु. २,२८,०४५ को सहलगानीमा काम गरिएको थियो । त्यस्तै बेतान स्वास्थ्य चौकीमा निर्माण कार्यका लागि स्वच्छता परियोजनाको तर्फबाट रु. १२,९८,२०२ र चौकुने गाँउपालिकाको तर्फबाट रु. २,६६,३९१ र गुटु स्वास्थ्य चौकीमा स्वच्छता परियोजनाको तर्फबाट रु. ११,४४,९७९ र चौकुने गाँउपालिकाको तर्फबाट रु. २,२८,७९० सहलगानी रहेको परियोजनाका प्राविधिक राजेन्द्र गौतमले जानकारी दिए ।

यसै अन्तर्गत तिनैवटा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिहरुले सार्वजनिक लेखा परिक्षण पनि विभिन्न सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न गरेका छन् । नव–निर्मित खानेपानी योजना, पहुँचयुक्त शौचालय र अत्यावश्यक स्थानहरुमा साबुन पानीले हात धुने ठाँउको पनि व्यवस्थापनले गर्दा थप गुणस्तरीय सेवा प्रदान गर्न सहयोग हुने कुरा बेतान स्वास्थ्य चौकी प्रमुख श्री जगत अधिकारीले बताएका छन् ।
स्वच्छता परियोजनाले सन् २०२१ देखि सुर्खेत जिल्लाका ३१ वटा स्वास्थ्य संस्थामा खानेपानी योजना र शौचालय निर्माण गर्दै आइरहेको छ । साथै परियोजनाले जिल्लाका ५० वटा स्वास्थ्य संस्थामा संक्रमण रोकथाम तथा व्यवहार परिवर्तन सम्बन्धि तालिमहरु पनि संचालन गर्दै आईरहको छ ।