स्वास्थ्यका लागि बहुउपयोगी, बहुगुणी मिलेट्स, प्राण घातक रोगहरुको निवारण

स्वास्थ्यका लागि बहुउपयोगी, बहुगुणी मिलेट्स, प्राण घातक रोगहरुको निवारण सम्बन्धि सम्पुर्ण जानकारी हेर्नुहाेस
डा. रामदेव पण्डित
सानो बीउ भएको अन्नको समूहलाई मिलेट्स भनिन्छ । मिलेट्स खासमा अंग्रेजी शब्द हो । यसको लागि नेपालीमा कुनै ठेट शब्द पाइन्न ।
भारतमा हिजोआज मिलेट्सलाई श्री अन्न भन्ने गरिएको छ । सामान्यतः कोदो वा बाजरा शब्दलाई नै नेपालमा मिलेट्सको लागि प्रयोग गरिएको पाइन्छ । यद्यपि कोदो र बाजरा पनि नेपालमा पाइने एक प्रजातिको मिलेट्स नै हो । मिलेट्सलाई मोटो अनाज वा क्षुद्र धान्य भनिन्छ ।
मिलेट्सको असाधारण पोषण र उपचारात्मक गुणहरूको कारण आयुर्वेदमा यसले प्रमुखता प्राप्त गरेको छ । प्रमुख भोजन, खाजा, जडीबुटीको अनुपान, पथ्य-अपथ्य आदिको माध्यमबाट यसले आयुर्वेद चिकित्सामा आफ्नो गुण एवं चिकित्सकीय प्रभाव प्रकट गर्ने गर्दछ ।


कोदोको फाइदाहरूको बारेमा जागरण ल्याउने अहिले सबैभन्दा उपयुक्त समय हो ।
कोदो अर्थात् मिलेट्सलाई मानव जातिद्वारा खेती गरिएको सबैभन्दा पुरानो बालीहरूमध्ये एकको रूपमा चिनिन्छ । यो प्रतिकूल मौसममा पनि फस्टाउन सक्षम हुन्छ, साथै न्यूनतम सिंचाइले पनि यसको खेती गर्न सकिन्छ । सन् २०२१ मा भारतले २०२३ लाई इन्टरनेसनल इयर अफ मिलेटको रूपमा घोषणा गर्न संयुक्त राष्ट्र संघलाई प्रस्ताव गर्‍यो । उक्त प्रस्तावलाई ७२ देशको समर्थन प्राप्त भयो र संयुक्त राष्ट्र संघको महासभाले सन् २०२३ लाई अन्तर्राष्ट्रिय बाजरा वर्ष घोषणा गरेको हो ।
कोदोमा जलवायु परिवर्तन र विश्वव्यापी खाद्य सुरक्षाका चुनौतीहरूको समाधान प्रदान गर्न सक्ने क्षमता र सम्भावना छ । कोदो (औँला कोदो), जुनेलो (जोवार कोदो), कागुनो (फक्सटेल कोदो), चिनो (प्रोसो कोदो) लगायतका विभिन्न प्रकारका कोदो नेपालको विभिन्न कृषि-जलवायु क्षेत्रहरूमा उत्पादन गरिन्छ । धान, गहुँ र मकैपछिको चौथो प्रमुख बाली हो कोदो । यो बालीको नेपालका प्रमुख उत्पादन हुने जिल्लाहरु खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, गोरखा र सिन्धुली हुन । तराई र पहाडका साना किसानहरूको विविध खाद्य संस्कृति र जीविकोपार्जनमा कोदोको प्रयोग हुन्छ ।


कोदोलाई नेपालका धेरै भूभागमा आहाराको रुपमा नियमितरूपमा अझै पनि खाइन्छ । तर दुर्भाग्य अहिले धेरैजसो क्षेत्रहरूमा परम्परागतरूपमा कोदोको खपत गर्नेहरू पनि चामल, गहुँ र मकै खान थालेका छन । युवा पुस्ताले त यसको स्वाद चाख्नै पाएका छैनन भन्दा पनि हुन्छ । कृषि वैज्ञानिकहरू कोदो मानिसका लागि महत्वपूणर् भएको विश्वास गर्छन । किनभने यो कम उर्वरता भएका सीमान्त भूमिहरूमा पनि व्यापकरूपमा फलाउन सकिन्छ ।
यसले बालीमा कीरा र रोगहरूको प्रकोप पनि कम गर्दछ । भण्डारण गरी राखिएको कोदोलाई कीराहरूले बर्बाद नगर्ने भएकोले यसलाई वर्षौंसम्म भण्डारण गर्न सकिन्छ । सबैभन्दा महत्वपूणर् कुरा भनेको यो त्यहाँ राम्रोसँग बढ्छ जहाँ अन्य बालीहरू सामान्यतया असफल हुन्छन् । सूक्ष्म पोषक तत्वहरू, आहार फाइबर, दुर्लभ एमिनो एसिड, भिटामिन, उच्च प्रोटिन, क्याल्सियम र आइरन तत्वको लागि खाना हो । यी तत्वहरु स्वस्थ एवं सन्तुलित आहारको लागि आवश्यक हुन्छन ।
अधिक सुविधा सम्पन्न वा ऐयासी जीवन बिताउनेहरूलाई खानाकै कारण धैरै थरीका जीवनशैलीगत रोगहरु लाग्ने सम्भावना हुन्छ । उनीहरुले आफ्नो आहारमा यसलाई समावेश गरेर धेरै लाभ उठाउन
सक्छन । त्यस अर्थमा, भविष्यमा कोदोले सम्भावित रूपमा ठूलो जनसंख्याको पोषण र स्वास्थ्य सुरक्षा सुधार गर्न सक्छ ।
नेपालले कोदोको महत्व बुझ्दै, सरकारी स्तरबाटै सन् १९७० र त्यसपछिका दशकहरूमा उपलब्ध कोदोका जर्मप्लाज्महरू संकलन र संरक्षण गर्न प्रयासहरू गरेको थियो । सन् १९७५ र १९९५ को बीचमा अनुसन्धान कार्यक्रममार्फत कोदोको एक हजारभन्दा बढी प्रजातिहरु संकलन र संरक्षण गरिएको थियो, जुन दश बर्से जनविद्रोह कालमा (नमुनाहरू राखिएको कार्यालय भवनमा आगजनी भएर) नष्ट भयो ।
कोदोः भविष्यको खाना
एक वर्षअगाडिको मात्र कुरा हो, भारतमा ढिलो वर्षाले बाली नष्ट भएपछि प्याजको मूल्य तीन गुणा बढेको थियो । त्यस बेला भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाउन बाध्य भएको थियो । जलवायु संकट गहिरो र निर्यात गर्ने देशहरूमा खाद्य उत्पादनलाई असर गर्दा नेपाल सधैँ खाद्यान्न आयात गर्न सक्षम नहुन सक्छ भन्ने एक उदाहरण थियो यो पछिल्लो घटना ।
विश्वमा जलवायु संकट गहिरिएसँगै खाद्य सुरक्षाको सम्भावनालाई लिएर कृषि वैज्ञानिकहरु चिन्तित छन् । सम्भावित समस्याको समाधानको रूपमा, ‘जलवायु-स्मार्ट कृषि’ लाई प्रवद्र्धन गरिएको छ, जसले गर्दा किसानहरूलाई यी जलवायु तनावहरूसँग अनुकूलन गर्न मद्दत पुगोस । त्यस्ता अवधारणाहरूको प्रवद्र्धन आजको आवश्यकता पनि हो ।
भविष्यको बालीका रूपमा लिए पनि हालसम्मको बदलिँदो मौसमको परिप्रेक्ष्यमा कहिलेकाहीँ केही व्यक्तिहरुले खाने र मदिरा उत्पादन गर्न यसको प्रयोग गर्नेबाहेक कोदोले आफ्नो उचित महत्व पाइसकेको छैन । धेरै पहिलेदेखि नै रक्सी बनाउन कोदोको एक महत्वपूणर् हिस्सा प्रयोग हुँदै आएको छ ।
संयुक्त राष्ट्र संघको महासभाले सन् २०२३ लाई कोदोको अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको सेरोफेरोमा कोदोको फाइदाहरूको बारेमा जागरण ल्याउने अहिले सबैभन्दा उपयुक्त समय हो ।
मिलेट्सका केही फाइदाहरु

१) दोषहरू सन्तुलनः आयुर्वेदका अनुसार मिलेट्सको प्रयोगले मानव शरीरमा हुने तीनै प्रकारका दोषहरु (वात, पित्त र कफ) को सन्तुलन कायम गर्दछ । दोषहरूबीच सन्तुलन कायम राख्न कोदोले महत्वपूणर् भूमिका खेल्छ । यसको मतलब तिनीहरूले कुनै पनि विशिष्ट दोषलाई बढाउँदैनन्, जुन फरक-फरक प्रकृति भएका व्यक्तिहरूका लागि विशेष गरी लाभदायक हुन्छ ।
२) पाचन मित्रताः कोदो सामान्यतया पचाउन सजिलो हुन्छ । यो गुणले तिनीहरूलाई संवेदनशील वा कमजोर पाचन प्रणाली भएकाहरूको पनि रुचि र छनोटमा पर्दछ । तिनीहरूले पाचन प्रणालीमा अनावश्यक तनावविना पोषण आपूर्ति गर्न सक्छन् ।
३) पोषक तत्वको प्रचुरताः कोदो एक पौष्टिक शक्ति हो । यसमा भिटामिन बी, फलाम र म्याग्नेसियमजस्ता खनिज अनि फाइबरसहित आवश्यक पोषक तत्वहरू हुन्छन् । यो पौष्टिक घनत्वले ऊर्जा र जीवन शक्तिको दिगो स्रोतको रूपमा योगदान पुर्‍याउँछ ।
४) ब्लड ग्लुकोज व्यवस्थापनः स्थिर रगतमा चिनीको स्तर कायम राख्न कोदोको कम ग्लाइसेमिक सूचकांक महत्वपूणर् छ । यो गुणले ब्लड ग्लुकोजसँग सम्बन्धित अवस्थाहरू प्रबन्ध गर्ने व्यक्तिहरूको आहारमा मूल्यवान् आहारको रुपमा समावेश गरिनुपर्दछ ।
५) तौल व्यवस्थापनः कोदो आहार फाइबरको एक समृद्ध स्रोत हो । यो फाइबर सामग्रीले पूणर्ताको अनुभूतिमा योगदान पुर्‍याउँछ, व्यक्तिहरूलाई धेरै खाने र अनावश्यक खाजाहरू कम गराएर स्वस्थ तौल कायम राख्न मद्दत गर्दछ ।
६) ग्लुटेन-मुक्त विकल्पः कोदो ग्लुटेन संवेदनशीलता वा सेलिआक रोग भएका व्यक्तिहरूको लागि एक राम्रो विकल्प हो । यो गुणले ग्लुटेन-सम्बन्धित आहार प्रतिबन्धहरू भएकाहरूको आहारमा कोदोको विभिन्न प्रकारका परिकारहरु समावेश गर्न अनुमति दिन्छ । कोदोको महत्व नबुझेर हाम्रो समाजमा यसको प्रयोग बिस्तारै घटेको हो । अब फेरि यसको महत्व र गुणको चर्चा हुन थालेपछि यसको माग बढ्दो छ । मिलेट्सको विश्वव्यापी उदाउँदो चर्चा हेर्दा यो मानव स्वास्थ्यको लागि निकट भविष्यमै एक महत्वपूणर् घटक बन्ने प्रायः निश्चित छ ।
अनुसन्धानहरुका अनुसार कोदो सामान्यतः डायबिटिज, उच्च रक्तचाप, क्यान्सर आदि धेरै जीणर् एवं प्राणघातक रोगहरुको बचाउ, नियन्त्रण र निवारणमा सहयोगी देखिएको छ । यसले प्रोटिनको पारस्परिक पूरकता सिर्जना गर्छ । एमिनोएसिडको आपूर्ति बढाउँछ र शरीरको प्रोटिन पाचन क्षमता बढाउँछ ।
यसर्थ मिलेट्सको महत्वलाई नेपाल र नेपालीले अब बुझेर यसको खेती गर्नुपर्ने देखिन्छ । जनस्वास्थ्यको रक्षाका लागि कोदोलाई दैनिक खानपिनमा प्रयोग गर्नु जरुरी देखिन्छ । अहिलेका युवा वर्ग तथा ऐयासी जीवन विताएका मानिस हरुलाई पनि मिलेट्सको बारे बुझाउन जरुरी छ ।