दैनिक ४ हजार पाइला हिँड्नुहोस, खतरनाक रोगहरुको जाेखिम घट्छ

दैनिकजसो मानिसहरु विहान तथा बेलुकाको समयमा हिडने वा दौडने गरेको देखिरहेका हुन्छौ । जुनसुकै मौसममा पनि नजिकैको पार्क तथा सडकमा देख्न सकिन्छ । कहिले उनीहरु बिस्तारै हिँडिरहेका भेटिन्छन्, कहिले कुदिरहेका हुन्छन । अध्ययनले यसरी दौडने अथवा हिँड्ने मानिसको दिमाग अन्य मानिसको भन्दा ठूलो हुने देखाएको छ । दैनिक १० हजार पाइला हिँड्दा मुटु, दिमाग र शरीर स्वस्थ रहने बताइएको छ ।
जर्नल अफ अल्जाइमर्स डिजिजमा प्रकाशित यस अध्ययनका अनुसार यदि दैनिक केही हजार पाइला मात्र हिँड्नुहुन्छ वा केही व्यायाम गर्नुहुन्छ भने तपाईंको मस्तिष्कको आकार बढ्न सक्छ । मस्तिष्कको आकार ठूलो हुनुको अर्थ हो- मस्तिष्क स्वस्थ छ, यसका सबै न्युरोट्रान्समिटरहरू ठीकसँग काम गरिरहेका छन्, अर्थात् डिमेन्सिया वा अल्जाइमरको जोखिम हुँदैन ।
१० हजारभन्दा बढी मानिसमा गरिएको यस अध्ययनका अनुसार दैनिक केही हजार पाइला पनि हिँड्नेहरूको दिमाग अरूभन्दा ठूलो थियो ।
अध्ययनका क्रममा धेरैले प्रश्न गरेका थिएः
दैनिक कति पाइला हिँड्दा हाम्रो दिमाग स्वस्थ रहन सक्छ ?
हिँड्दा अरु के फाइदा हुन्छ ?
अत्यधिक हिँड्दा स्वास्थ्यमा हानि हुन्छ कि हुँदैन ?
प्यासिफिक न्युरोसाइन्स इन्स्टिच्युटको ब्रेन हेल्थ सेन्टरका निर्देशक तथा अनुसन्धानका लेखक डा. डेभिड मेरिलका अनुसार दैनिक मध्यम व्यायमले मानिसको दिमागमा सकारात्मक प्रभाव पार्छ । उनले दिनमा ४ हजार पाइला हिँड्नु पर्याप्त हुने बताएका छन ।
व्यायामले मस्तिष्कलाई शक्ति दिन्छ
हैदरावादको यशोदा अस्पतालका जनरल फिजिसियन डा. करण उदेश तानुगुलाका अनुसार शारीरिक क्रियाकलापले मस्तिष्कमा रक्तसञ्चार बढाउँछ । जसका कारण मस्तिष्कमा अक्सिजन बढी पुग्छ अर्थात् मस्तिष्कमा शक्ति बढ्छ । यसले संज्ञानात्मक कार्यमा पनि सुधार गर्दछ ।
मस्तिष्कमा रक्तसञ्चार राम्रो हुनाले मस्तिष्कको विकाससँग सम्बन्धित न्युरोट्रान्समिटर र रसायन बढी निस्कन्छ । नयाँ न्युरोन्स चाँडै विकास हुन्छ । व्यायमले मस्तिष्कको स्थितिमा पनि सुधार ल्याउने बताइएको छ ।
मस्तिष्कको आकारले यसको स्वास्थ्यको बारेमा धेरै कुरा बताउँछ । यदि मस्तिष्कको आकार घट्दै गएको छ भने यो डिमेन्सियाको प्रारम्भिक लक्षण हुन सक्छ । हरेक दिन आधा घन्टा हिँड्दा पनि दिमागलाई स्वस्थ राख्न सकिने अध्ययनमा भनिएको छ ।
नियमित हिँडडुल गर्नाले के फाइदा हुन्छ ?
प्रतिरक्षा प्रणाली बलियो हुन्छ
शरीर स्वस्थ रहनका लागि रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु जरुरी छ । यदि, स्वस्थ आहारको साथसाथै, हरेक बिहान हिँड्नु मानिसको प्रतिरक्षा प्रणालीका लागि राम्रो पक्ष हो । बिहानको ताजा हावामा २० देखि ३० मिनेट हिँड्दा संक्रमण र रोगसँग लड्ने क्षमता बढ्छ ।
तौल घटाउन सहयोगी
हरेक दिन आधा घण्टा तीव्र गतिमा हिँड्दा धेरै क्यालोरी नष्ट हुन्छ । अधिक क्यालोरी खपतले शरीरको तौल नियन्त्रणमा राख्छ । यसले धेरै रोगहरूको जोखिम स्वतः कम गर्न सक्छ ।
हृदयाघातको जोखिम कम हुन्छ
कानपुर, मुटु रोग संस्थानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवधेश शर्मा भन्छन्, दैनिक हिँड्दा शरीरमा खराब कोलेस्ट्रोल (एलडीएल) घट्छ र राम्रो कोलेस्ट्रोल (एचडीएल) बढ्छ । यसले मुटु स्वस्थ राख्न मद्दत गर्छ । हृदयघात र स्ट्रोकको जोखिम कम गर्छ ।
मधुमेह रोगीले राहत पाउँछन्
स्पोट्र्स मेडिसिनमा प्रकाशित एक अध्ययनका अनुसार खाना खाइसकेपछि हिँड्ने बानीले मुटुको स्वास्थ्यलाई राम्रो राख्न मात्र नभई शरीरमा रगतमा ग्लुकोजको स्तरलाई नियन्त्रणमा राख्न पनि मद्दत गर्छ । खाना खाएपछि ५ देखि १० मिनेटको छोटो पैदल यात्राले पनि रगतमा चिनीको मात्रा र इन्सुलिनको स्तर सन्तुलित राख्न सक्छ ।
तनाव पनि कम हुन्छ
दैनिक २० देखि ३० मिनेट हिँड्दा तनाव, डिप्रेसन र चिन्ताको स्तर कम हुन्छ । यस अवधिमा शरीरमा एन्डोर्फिन हर्मोनको स्तर बढ्छ, जसले तनाव कम गर्ने अथवा व्यवस्थापन गर्ने काम गर्छ । नियमित हिँडडुलले मानिसलाई राम्रो महसुस गराउँछ ।
बृद्ध अवस्था मानिसहरुले पनि हिडडुल गर्नाले शरिरलाई राम्रो बनाउछ ।