चिसो मौसममा देखापर्ने स्वास्थ्य समस्या र बच्ने उपाय

देशभरका अधिकांश स्थानमा मौसममा आएको बदलीसँगै चिसो बढेको छ । चिसो बढेसँगै पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने र तराईमा पनि बिहान र बेलुकाको समयमा हुस्सु लाग्ने गरेकोे छ ।

जसका कारण अत्याधिक चिसोले मानिसमा धेरै स्वास्थ्य समस्या देखा पर्छन् । जाडोमा अन्य मौसममा भन्दा बालबालिका र वृद्धवृद्धालाई बढि मात्रामा स्वास्थ्य समस्या हुने गर्दछ ।

जाडोमा देखिने स्वास्थ्य समस्याः

१. हाइपोथर्मिया
शरीरमा तापक्रमको मात्रा कम हुनुलाई हाइपोथर्मिया भनिन्छ । यो समस्या आउँदा शरीर काँप्ने, दिमाग सुस्त हुने, बेहोस हुने, बेहोसीमै अस्वभाविक ब्यवहार देखाउने, यदि हाइपोथर्मिया बढेमा मुटुको धड्कन रोकिने र बिरामीको ज्यानै जान सक्ने हुन सक्छ ।

२. फ्लु
इन्फ्लुएन्जा भाइरसबाट लाग्ने सरुवा रोगलाई फ्लु भनिन्छ । विशेषतः मनसुनको मौसम वा जाडो महिनाको सुरुवातमा मौसमी फ्लु हुने गर्दछ । संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा अर्को व्यक्तिमा फ्लुको संक्रमण सर्ने गर्दछ ।

३. रुघाखोकी
चिसो मौसममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी लाग्ने सम्भावना बढि हुन्छ ।

४. हिउँले खाने
जाडो मौसममा हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा हिउँ पर्छ । यो मौसममा त्यस भु भागमा रहने वा बाहिरबाट घुम्न जानेहरुलाई हिउँले खाने समस्या हुनसक्छ । लामो समयसम्म हिउँ वा चिसो पानीको सम्पर्कले यो समस्या हुन सक्छ ।

५. श्वासप्रश्वास
चिसो बढेसंगै केहि मानिसमा श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने गर्दछ । यसको सबैभन्दा छिटो प्रभाव बिरामी, वृद्धवद्धा, साना बालबालिका तथा सुत्केरीमा पर्न जान्छ । श्वासप्रश्वास सम्बन्धी रोग लाग्नुको मुख्य कारण प्रदूषण, धुम्रपानसंगै चिसो मुख्य कारण हो । श्वासप्रश्वास सम्बन्धी रोगमा दम, ब्रोङकाइटिस र निमोनिया लगायतका समस्या पनि हुन सक्छ ।

६. हृदयघात
चिसो मौसममा हुन सक्ने एउटा जटिल समस्या हृदयघात हो । मुटुमा रक्तप्रवाह अचानक बन्द भएमा हृदयघात हुने गर्दछ । यस्तो भएमा मुटुमा असर पर्ने र असर परेको भागले काम गर्न छाड्ने सम्मको समस्या निम्तन्छ ।

७. कार्वनमनोअक्साइड पोइजनिङ
चिसो मौसममा केहि मानिसहरु सबै झ्याल ढोका बन्द गरेर आगो ताप्ने गर्दछन् । यसरी कतैबाट हावा नछिर्ने गरी कोठा बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ । यसले पोइजनको रुपमा शरीरमा प्रवेश गर्दछ । र मानिसको मृत्यु पनि हुन सक्छ ।

८. जोर्नीको दुखाइ
जोर्नीको दुखाई चिसो मौसममा देखापर्ने मुख्य समस्या मध्ये एक हो । विशेषतः वृद्ध मानिसलाई देखापर्ने यो समस्या जाडो बढेसँगै शुरु हुने गर्दछ । बाहिरी तापमान घटबढ हुँदा जोर्नीका नसा समेत खुम्चिने गर्दछन् र रगतमा पनि तापक्रम घट्दछ । जसका कारण जोर्नीहरू कडा हुने र दुख्ने गर्दछ ।

९.छाला सुख्खा हुने
चिसो मौसम लागेसंगै हाम्रो शरीरको छालामा सुख्खापना बढ्ने गर्दछ । किनकी चिसो मौसम छालाका लागि अनुकूल समय होइन । बाहिरी वातावरण शरीरको तापक्रम भन्दा कम हुदाँ शरीरको ताप वातावरणले तान्न थाल्छ र छाला सुख्खा हुने गर्दछ ।

१०. विन्टर डाइरिया
जाडो मौसममा नोरोभाइरसको सक्रियताका कारण केहि मानिसमा बान्ता हुने तथा झाडापखाला लाग्ने गर्दछ । जसलाई विन्टर डायरिया पनि भनिन्छ । संक्रमित व्यक्तिको संसर्गबाट सर्ने विन्टर डाइरीया संक्रमित खाना, वस्तु वा सतह छुँदा पनि सहजै सर्न सक्छ ।

यसबाट कसरी बच्नेः
१. हाइपोथर्मिया हुँदा सामान्य भन्दा बढि न्यानो लुगा लगाउने, न्यानो स्थानमा बस्ने, शरीरलाई तातो बनाउने र समस्या बढेमा अस्पताल जानुपर्दछ ।

२. फ्लु बाट बच्न सकेसम्म सार्वजनिक स्थलमा नजाने, संक्रमित व्यक्तिसँग नजिक नहुने, बाहिरबाट आएपछि साबुन पानीले राम्ररी हातमुख धुने, संक्रमित व्यक्तिले हाछ्युँ गर्दा मुख छोपेर मात्र गर्नुपर्छ । फ्लुको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।

३. रुघाखोकीबाट बच्न चिसोबाट बच्नुपर्छ । बाहिर निस्किदा मास्क लगाउने गर्नुपर्दछ । तातो तथा झोलिलो खानेकुरा खानुपर्छ ।

४. हिउँले खाने समस्याबाट बच्न शरीरको कुनै पनि अंगलाई हिउँ वा चिसो पानी नछुने, विशेषगरी हातखुट्टा, औलाहरु, अनुहार, नाक, कान आदिलाई चिसोबाट बचाउने, असावधानीका कारण हिउँले धेरै खाएको भए त्यस भागलाई शल्यक्रिया गरी फाल्नुपर्ने अवस्था पनि आउन सक्छ ।

५. श्वासप्रश्वास सम्बन्धी रोगबाट बच्न सम्भव भएसम्म धुलो, धुवाँ तथा प्रदूषणबाट टाढा बस्नुपर्छ । बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्नुे, धुम्रपान नगर्ने,

६. हृदयघातबाट बच्न चिसोबाट बच्नुपर्छ । यसका साथै वजन कम गर्ने, बढि चिल्लो, बोसो वा मसलेदार खाना नखाने गर्नुपर्दछ । चिसो मौसममा शरीरलाई सक्रिय राख्न नियमित केहिबेर शारीरिक व्यायाम गर्नुपर्दछ ।

७. कार्वनमनोअक्साइड पोइजनिङबाट बच्न कोठा भित्र आगो वा हिटर ताप्दा कोठाको कुनै एक भाग खुल्ला राख्नु पर्दछ । केहिबेर आगो वा हिटर तापेपछि कोठा बाहिर जाने र अन्य काममा सक्रिय हुनुपर्छ

८. चिसो मौसममा जोर्नीको दुखाईबाट बच्न र शरीरमा सुख्खापना आउन नदिन एक समानको तापमान बनाउनु पर्दछ । शरीर पुरै ढाकिने गुरि न्यानो कपडा लगाउनुपर्छ । तातो तथा झोलिलो खानेकुरा सेवन गर्ने, कुनै पनि ज्याकेट वा ऊनको स्विटर लगाउँदा शरीरमा टासिने कपडा सुतिको हुनुपर्छ । यदि छाला धेरै सुख्खा भए मोइस्चराइजर क्रिम लगाउनु पर्दछ ।

९. विन्टर डाइरियाबाट बच्न खाना पकाउँदा साबुनपानीले राम्ररी हात धुने, संक्रमित व्यक्तिको संसर्गमा नआउने, एकअर्काको कपडा वा सामान प्रयोग नगर्ने, संक्रमित व्यक्तिले गरेको बान्ता वा दिशापिसाब नसोहोर्ने र सोहोर्नु परे पञ्जा र मास्क लगाउने गर्नुपर्दछ ।