
हाम्रो देशको भौगोलिक बनावट, खानपानको तरिका र स्वास्थ्य चेतनाको अभावका कारण पत्थरीको समस्या चुनौती बनिरहेको छ ।

कसरी हुन्छ पत्थरी ?
मानव शरीरको विकार वस्तुमध्ये पिसाब एक प्रकारको जटिल रसायन हो । यसमा पत्थरी बनाउने र पत्थरी बन्न नदिने दुईवटै तत्व हुन्छ । पिसाबमा रहेको क्याल्सियम र ओक्जालेटले पत्थरी बनाउँछ भने नेफ्रोक्याल्सिन, युरोपोन्टिन र ट्याम-हर्सफल प्रोटिनले पत्थरी बन्न दिँदैन । कुनै कारणवश पिसाबमा पत्थरी बन्ने तत्व बढ्यो भने यो समस्या उत्पन्न हुन्छ ।

पत्थरी मुख्यतः पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ । कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिन्छ ।
तौल बढी भएको, पहिला पनि पत्थरी भएको र परिवारमा अरुलाई पनि पत्थरी भएका व्यक्तिहरुमा पत्थरी हुने सम्भावना बढी हुन्छ । कतिपय व्यक्तिमा अनुवंशिक रोगहरुले पनि पत्थरी बनाउन सक्छ । युरिक एसिडको समस्याबाट प्राताडितमध्ये करिब १० प्रतिशतलाई युरिक एसिड खालकै पत्थरी हुने सम्भावना हुन्छ ।
पत्थरी भएको यसरी थाहा पाउने ?
कतिपय व्यक्तिमा पत्थरीको कुनै लक्षण नदेखिन सक्छ । जब पत्थरीले पिसाब बग्ने बाटोमा बाधा पुर्याउन थाल्छ, त्यसपछि मात्र लक्षणहरु देखा पर्न थाल्छन् । पत्थरीको समस्यामा कोखा दुख्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा लाग्ने, पिसाबमा रगत देखिने, वाकवाक लाग्ने लगायतका लक्षण देखिन्छन् ।
लामो समयसम्म पत्थरीले पिसाबको बहावमा अवरोध भएमा पिसाबको संक्रमण हुने, मिर्गौला सुन्निने, मिर्गौला नै संक्रमित हुने र मिर्गौला फेल हुनेसम्मको अवस्था आउँछ । पिसाब जाँच, भिडियो एक्सरे, सामान्य एक्सरे, सिटी स्क्यान र कतिपय रगत जाँचले मुत्र प्रणाली सम्बन्धी पत्थरी भएन/भएको पत्ता लाग्छ ।
पत्थरी भएमा वा पत्थरी हुन नदिन खानु पर्ने भोजनहरुः
१. पानी प्रसस्त पिउने,
एक दिनमा दुई लिटर पिसाब बन्नेगरी आवश्यक मात्रामा पानी पिउने गरेको खण्डमा मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने सम्भावना ४० प्रतिशतले घट्छ । यदि, हामी धेरै गर्मी ठाउँमा बस्छौँ वा धेरै पसिना बग्ने कठिन काम गर्छौं भने अझ बढी पानी पिउनुपर्ने हुन्छ । यदि कसैलाई पत्थरी भएको छ भने पहिलेको तुलनामा अझैँ बढी नै पानी पिउने गर्नुपर्दछ । बढि पानी पिउँदा पिसाबको मात्रा बढेर मिगौंलामा भएको पत्थरीलाई बाहिर निकाल्न मद्दत गर्दछ ।
२. मासु कम खाने,
मासु धेरै खाने व्यक्तिमा पत्थरी हुने सम्भावना बढी हुन्छ । विशेष गरी, रातो मासु कम खानु वुद्धिमानी हुन्छ ।
३. नुन कम खाने,
नुनिलो खाने कुरा, जंकफुड, प्रशोधित खाने कुरा र धेरै मात्रामा अचार खानुहुँदैन् ।
४. क्याल्सियम,
क्याल्सियम भएको खाने कुराले पत्थरी बनाउने त होइन । तर, प्राकृतिक रुपमा (पशु र वनस्पतिमा हुने) क्याल्सियम खानु राम्रो हुन्छ । दूध वा दुधजन्य खानेकुरा प्रतिदिन पाँच सय मिलिलिटरसम्म खान सकिन्छ । क्याल्सियम चक्की खानुपरेका खण्डमा खालि पेटमा खानु हुँदैन ।
५. अक्जालेटयुक्त,
अक्जालेटयुक्त खानेकुरा सकेसम्म कम खाने गर्नुपर्छ । पालुंगो साग, सखरखण्ड, काउली, चकलेट, कफी, कालो चिया, बियर, स्ट्रबेरी जस्ता खानेकुरामा अक्जालेटको मात्रा बढी हुन्छ ।
६.नरिवलको पानी,
पत्थरी भएकाको लागी नरिवलको पानी एक उत्तम औषधी हो । नरिवलको पानीमा प्रशस्त मात्रामा प्राकृतिक पोटासियम पाइन्छ । पोटासियमले पत्थर बन्नको लागी रोक्ने र बढ्न नदिने औषधी रुपमा काम गर्दछ । र सुन्तला, कागती साइट्रेटयुक्त एवं पोटासियमयुक्त फलफूल बढी खाने गर्नुपर्छ ।
७. भिटामिन ‘बी ६’,
भिटामिन ‘बी ६’ मा पाइने अण्डा, चिज र माछाको सेवनले पनि पत्थरीको सम्भावना कम गर्छ ।
८. हरियो मकै चिया,
हरियो मकैमा प्रोटिन, कार्बोहाइड्रेट्स, भिटामिन र मिनरल्स प्रशस्त मात्रामा पाइन्छ । मकैको चिया बनाएर सेवन गर्दा टाटेट्स नामको तत्व पाइने कारणले गर्दा यसले पत्थरी बन्ने प्रक्रियालाई रोकेर मिगौलाको इन्फेक्सन कम गर्दछ ।
९. जौं,
जौ को माड बनाएर खानाले मिगौला सम्बन्धीत समस्या समाधान भई मुत्र प्रवाहलाई बढाएर मिगौला र मुत्रमार्गको संक्रमणबाट पनि बचाउँछ ।
१०. भुइँकटर,
भुइकटरको जुसले पनि पत्थरीको बिरामीलाई फाइदा गर्दछ । भुइकटरको जुस बनाएर सेवन गर्नाले पत्थरीलाई गाल्ने इन्जाइम फाइब्रिनलाई तोड्दछ ।
११. केरा,
केराको सेवनले अक्जलिक एसिडलाई तोडि आक्जेलेट किस्टल बन्नबाट बचाउँछ ।
१२. बदाम,
बदामले जाडोमा न्यायो बनाउने मात्र नभएर मिगौला पत्थरीको पिडितलाई पनि फाइदा गर्दछ । बदाममा प्रशस्त भिटामिन र पोटासियमका पाइने कारणले पत्थरी बन्नको लागी रोक्दछ ।
१३. कागती,
कागतीमा भिटामिन ‘सी’अधिक मात्रामा पाइन्छ । यसको अम्लले क्याल्सियम अक्जलेट पत्थरी हुनबाट बचाउँछ ।
१४. गहतको झोल,
गहतको झोललाई पत्थरीको एकदमै राम्रो औषधीको रुपमा लिइन्छ । यसको झोल खानाले पत्थरीलाई गलाउने काम गरी बाहिर निकाल्दछ ।
१५. गाजर,
गाजरमा पायरोफा स्फेट र वनस्पतिय अम्ल पाइन्छ । गाजरमा किरोटिन पदार्थले मुत्र नलिमा हुने घाउलाई पनि निको पार्न सघाउँछ ।
के नखाने ?
पत्थरी भएका बिरामीले पालुंगोको साग, गोलभेडा, अमला, कालो अगुर, काक्रो खानुहुँदैन् । यस्तो फलफुलमा अक्जलेटको मात्रा बढि हुन्छ, जसको कारणले गर्दा पत्थर बन्ने सम्भावना अधिक हन्छ । फूलगोभी, भन्टा, च्याउ, फर्सी लगायतका खानेकुरा पनि खानु हुँदैन् । यसमा युरिक एसिड बनाउने प्युरिन, न्युक्लयोटाइडको मात्रा प्रसस्त हुन्छ र किस्टल बनाई पत्थरीको समस्या उत्पन्न गराउँछ ।
डाक्टरको सल्लाहः
गर्मीमा पत्थरीबाट बँच्नका लागि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । निरन्तर चिकित्सकको परामर्श लिनुस् । पत्थरीबाट बँच्नका लागि सेवन गर्न सकिने औषधीबारे जानकारी लिन पनि चिकित्सकसँग सल्लाह लिनु राम्रो मानिन्छ । कतिपय औषधीले पत्थरीको सम्भावना कम गर्न मद्धत गर्छन् । औषधीले पत्थरीलाई टुक्रा टुक्रा बनाएर पिसाबको माध्याबाट बाहिर निकाल्छ । यदि औषधीले संभव भएन भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।