आगो निभाउने क्रममा गुल्मीमा एक बालकको मृत्यु


गुल्मी, वैशाख ८ गते । गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका -३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल, गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले बताउनुभयो । हिजो राति आफ्नो परिवारका सदस्यको साथमा स्थानीय बर्दवास जङ्गलमा लागेको आगो निभाउन गएका मुखिया आगलागीमा परी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति नै गुल्मी अस्पताल तम्घासमा ल्याइएको थियो र यहाँ उपचार हुन नसेकपछि राति नै उनलाई पाल्पा पठाइएको थियो । सोही ठाउँका आगलागीमा परी घाइते भएका ५५ वर्षीय धनबहादुर कुँवरलाई पनि पाल्पामा उपचार सम्भव नभएपछी आज बिहानै थप उपचारका लागि बुटवल पठाइएको छ ।

यसैबीच इस्मा गाउँपालिकामा बिहीबार भएको आगलागीबाट दुई घर र तीन गोठ पूणर्रूपमा जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका-५ दमारका शिवलाल कुमाल र रुद्रबहादुर कुमालको घर र गोठ जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सामुदायिक वनबाट लागेको आगो बिहीबार अपराह्न एक्कासि गाउँमा पसेपछि घरगोठसहित अन्न र लत्ताकपडा जलेर नष्ट भएको स्थानीय बोमबहादुर कुमालले बताउनुभयो । दुई हप्ता पहिलेदेखी नै गुल्मीका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा आगलागी हुँदा आगो निभाउन स्थानीयवासी, जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई हम्मेहम्मे भएको छ ।