
जुम्ला | लागुऔषध दुव्र्यसनको बढ्दो समस्यालाई न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध विरुद्ध विशेष अभियान सुरु गरेको छ । २०८० चैत १६ गते बिहान ८ः०० बजे शुरु भएको यो कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न संघसंस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्य लगायत विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । विशेष अतिथिका रुपमा चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, चन्दननाथ नगरपालिकाका उपप्रमुख लगायत जिल्लाका नगरपालिकाका प्रमुख पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
साथै प्रमुख जिल्ला अधिकारी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा सहप्राध्यापक, २४ नं. बहिनी अड्डा जुम्लाका सहायक राठी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार, सञ्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षाविद्, विद्यार्थी, बुद्धिजीवी, समाजसेवी र सर्वसाधारण करिब ३५० व्यक्तिको उपस्थिति रहेको थियो ।जुम्ला जिल्लामा लागुऔषध दुव्र्यसन विरुद्ध जनचेतना अभिवृद्धि गर्ने र दुव्र्यसन उन्मूलन गर्ने उद्देश्यले दुई सातासम्म चल्ने यो अभियानमा विभिन्न गतिविधिहरु समेटिएको छ ।

जसमा र्यालीमा स्थानीय झलक तथा ब्यानर प्रदर्शन, लागुऔषध दुव्र्यसनी विरुद्ध प्रतिबद्धता जनाउन हस्ताक्षर सङ्कलन, सबै विद्यालयमा लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना कक्षा सञ्चालन, नगरपालिकाका वडा कार्यालयमा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम आयोजना गर्ने, जिल्लामा लागुऔषध विरुद्धको अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, प्रशासन कार्यालय, मुख्य चोकमा लागुऔषध विरोधी जिङ्गल तथा घोषणाहरू प्रसारण गर्ने, जनचेतना जगाउन रणनीतिक स्थानमा २० वटा फ्लेक्स ब्यानर टाँस्ने, लागुऔषध सम्बन्धी पक्राउ र बरामद गर्न विशेष टोली परिचालन गर्ने, जिल्लाका प्रत्येक घरघरमा जानकारीमूलक पर्चा वितरण गर्ने जस्ता गतिविधिहरु सञ्चालन गरिएका थिए ।प्रमुख अतिथि र अन्य विशेष अतिथिले लागुऔषध दुव्र्यसनको बढ्दो समस्यालाई सम्बोधन गर्न सबै सरोकारवालाहरूबीच सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनीहरुले लागुऔषध दुव्र्यसन विरुद्ध समन्वयात्मक सचेतना कार्यक्रम, सीमा नाका कडाई र आवधिक अभियानको आवश्यकतामा जोड दिए । आफ्नो प्रतिबद्धतालाई बलियो बनाउन, सहभागीहरूले सामूहिक रूपमा कानूनको पालना गर्ने र लागूऔषध ओसारपसार वा उपभोगमा संलग्न नहुने वाचा गर्दै घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।लागूऔषध दुव्र्यसनी र ओसारपसार गर्नेलाई कडा कारबाही गर्ने, कानुनको दायराभित्र रहेर न्याय सुनिश्चित गर्ने प्रतिबद्धताका साथ दिउँसो १२ बजे कार्यक्रमको समापन गरिएको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७९/०८० मा १ सय ८ वटा लागुऔषध मुद्दा दर्ता भएका छन् । यस अवधिमा १ सय ८५ पुरुष र १५ महिलासहित २ सय जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । बरामद हुनेमा प्रदेशभरका विभिन्न स्थानबाट ६७२ ग्राम गांजा, १६३ ग्राम चरेस, ९८६ मिलिग्राम ब्राउन सुगर, १७ सीसी कोरक्स र १ हजार ६ सय ८४ ट्याब्लेट ट्रामाडोल रहेका छन् । बढ्दो मुद्दा, पक्राउ र बरामदका घटनालाई मध्यनजर गर्दै कर्णाली प्रहरीले लागुऔषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम र अभियान सञ्चालन गर्दै आएको छ ।
गाँजा, चरेस र अफिमको अवैध खेतीलाई सम्बोधन गर्न विशेष पहलहरू लागू गरिएको छ भने लागूऔषध सम्बन्धी गतिविधिलाई लक्षित गर्दै सीमा गस्ती र अनुसन्धानलाई तीव्रता दिइएको छ।‘लागुऔषध दुरुपयोग विरुद्धको ऐक्यबद्धता, व्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ जुन २६ मा मनाइने अन्तर्राष्ट्रिय लागुऔषध दिवस कर्णाली प्रदेश प्रहरीले विभिन्न जिल्लामा १२३ वटा कार्यक्रम आयोजना गरेको छ ।
यसैलाई मध्यनजर गर्दै जुम्लामा लागुऔषध नियन्त्रणको प्रयासलाई थप सुदृढ गर्न र समुदायको सुरक्षाका लागि विशेष अभियान सञ्चालन गरिएको छ ।

