कालिमाटी गाँउपालिकाको १४ औ गाँउ सभा सुरु

सुर्खेत, असार, ८ | सल्यानको कालिमाटी गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ को लागि वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ । गाउँपालिका अध्यक्ष केसीले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारः कालिमाटी गाउँपालिकाको सम्बृद्धिको आधार भन्ने नारालाई साकार पार्न आफुहरु अनवरत रुपमा लागिपरिरहेको भन्दै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

नीति तथा कार्यक्रम माथी गाउासभाका ११ जना बढी सदस्यहरुले छलफलमा भाग लिँदै विभिन्न सुझावहरु दिएका थिए ।प्रस्तुत नीति तथा कार्यक्रममा कृषि क्षेत्रको व्यवसायीकरण, उज्यालो पालिका कार्यक्रम, स्वास्थ्य, शिक्षा, पर्यटन तथा पूर्वाधार विकासलाई तिब्रता दिने विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

माटो सुहाउदो बाली तथा फलफुल उत्पादनमा जोड दिने, आयातलाई प्रतिस्थापन, निर्यातलाई प्रोत्साहन, महिलाले सामुहिक रुपमा खेती गरेमा अनुदान दिने देखी कृषि वस्तुको बजारीकरण तथा हरेक वडामा कृषि एवम् पशु प्राविधिक सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ । यसैगरी नीति कार्यक्रममा ग्रामीण अल्ट्रासाउण्ड सेवा मार्फत गर्भवति महिलामा स्वास्थ्यको पहुँच विस्तार गर्ने, पोषणमैत्री पालिका घोषणा गर्ने, सबै प्रकारका विभेद, हिंशा, विभेदकारी प्रथाहरु अन्त्यका लागि र महिला सशक्तीकरणका लागि सचेतनामूलक अभियान सञ्चालन गर्ने भनिएको छ ।

अति विपन्न परिवारका खरका छाना हटाएर जस्ता पाता मार्फत सुरक्षित आवास निर्माणलाई प्राथमिकता दिने, गाउँपालिकाको प्रशासकीय भवनको तला थप गर्ने, स्वच्छ खानेपानी, स्वच्छ जिवन भन्ने नारालाई साकार पार्न खानेपानी योजनाहरु सञ्चालन गर्ने पनि कालिमाटीको नीति, कार्यक्रममा उल्लेख गरिएको छ भने सार्वजनीक खर्चलाई मितव्ययी बनाउने उद्देश्यले चालु खर्च केही कटौती गरी पुँजीगत खर्च बढाउने विषयलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

उद्यमशिलता प्रवद्र्धन, लोक सेवा तयारी कक्षा सञ्चालन, वन व्यवस्थापन र पालिकाभित्रका धार्मिक, ऐतीहाँसिक, सांस्कृतीक तथा प्राकृतिक महत्वका स्थलहरुको संरक्षण, विकास र प्रवद्र्धनका लागि समन्वय सहकार्य गर्ने उल्लेख गरिएको छ ।

भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पूर्जा वितरण गर्न तिब्रताका साथ काम गर्ने, बाबुआमा गुमाएका वालवालिकाको शिक्षाको लागि मापदण्ड बनाई कार्यान्वयन गर्ने, स्थानीय पाठ्यक्रम कार्यान्वयनलाई थप व्यवस्थीत गर्ने, विद्यालय विकास र गुणस्तरिय शिक्षाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थीको प्रतिभा पहिचान तथा प्रस्फुटनका लागि फ्राइने फर प्mयुचर कार्यक्रम सञ्चालन गर्ने कालिमाटी गाउँपालिकाको नीति रहेको छ । १४ औ गाँउसभा असार ८,९ र १० गते सम्म संचालन हुनेछ।