सर्वोच्चले माग्यो रवि लामिछानेले अमेरिकी नगरिकता त्यागेको प्रमाण

जेठ ३ काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अमेरिकी नागरिकता त्यागेको प्रमाणित निस्सा मागेको छ। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले जिल्ला प्रशासन कार्यालय, बबरमहल काठमाडौं र अध्यागमन विभाग, कालिकास्थान काठमाडौंलाई पत्र लेख्दै लामिछानेले अमेरिकी राहदानी त्याग गरेको प्रमाणित निस्सा मागेको हो ।

महाशाखाले वैशाख २७ गते दुवै कार्यालयलाई पत्र पठाएको छ ।

लामिछाने अमेरिकी राहदानी हुँदाहुँदै नेपाली राहदानी लिएको र उक्त राहदानीका विषयमा मुद्दा नचलाएको भन्दै सिन्धुलीका युवराज पौडेल ‘सफल’ले महान्यायाधिवक्ता कार्यालय र लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । सोही रिटमा गत चैत २२ गते सर्वोच्चको इजलाशले लामिछानेले त्यागेको भनिएको अमेरिकी नागरिकता प्रमाणित हुने निस्सा जहाँ भएपनि झिकाएर पेस गर्न आदेश दिएको हो।