
काठमाडौं, चैत २८ । वैवाहिक बलात्कारको आरोपमा जिल्ला न्यायाधीश भुवन गिरी काठमाडौंबाट पक्राउ परेका छन्।न्यायाधीश गिरीकी पत्नीले आफ्नो इच्छाविपरीत यौन सम्बन्ध राखेको आरोपमा प्रहरीमा उजुरी दिएकी थिइन् ।

सोही कारण न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ गरेको हो । वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश पक्राउ परेको सायद यो पहिलो घटना हो । कानुनमा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा अपराध मानिन्छ । पतिले पत्नीको इच्छाविपरीत यौन सम्पर्क राखेमा उजुरी गर्न पाउने कानूनी व्यवस्था छ ।
कपिलवस्तु जिल्ला अदालतमा दरबन्दी भएका न्यायाधीश गिरी डेढ महिनाअघि न्यायपरिषद्मा तानिएका थिए । विवादमा आएपछि गिरीलाई न्यायपरिषद्ले काजमा तानेको हो । पति गिरीले आफूमाथि जबरजस्ती करणी गरेको दाबीसहित दोस्री पत्नी आरती रावलले न्यायपरिषदमा पनि उजुरी दर्ता गरेकी थिइन् । गिरीले पहिलो पत्नीलाई अंश दिएर दोस्रो विवाह गरेका थिए । न्यायाधीश गिरीमाथि परिषद्ले पनि छानबिन गरिरहेको प्रवक्ता मानबहादुर कार्कीले बताए । ‘उजुरीमा छानबिन भइरहेको छ’, कार्कीले भने ।

पति गिरीले आफूलाई बन्धक बनाएर कुटपिट, यौनशोषण र हिंसा गरेको आरोप लगाउँदै पत्नी रावलले कानुनी कारबाहीको माग राखेर जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गत मंसिरमा जाहेरी दिएकी थिइन् । न्यायाधीश गिरीलाई सोमबार दिउँसो काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । पक्राउ गरिएका न्यायाधीश गिरीलाई कपिलवस्तु नै पठाउने बताइएको छ । नागरिक दैनिकबाट