बिश्वका ठुला शहर समुन्द्रमुनी डुब्ने बैज्ञानिकहरुको भबिष्यवाणी

सन् २१०० सम्म अमेरिकामा ९० लाखदेखि १ करोड २० लाखसम्म मानिसहरू बढिरहेको समुद्रको जलस्तरबाट प्रभावित हुने बैज्ञानिकहरूले भविष्यवाणी गरेका छन् ।

अमेरिकाको मेरील्यान्ड विश्वविद्यालयका वैज्ञानिकहरू र न्युजील्यान्डको क्यान्टरबरी विश्वविद्यालयका बैज्ञानिकहरु टम लोगन र एलिसन रीलीले गरेको अध्ययनपछि यो भविष्यवाणी सार्वजनिक गरिएको हो । आफ्नो अध्ययनमा उनीहरूले अमेरिकाको स्थिति आगामी दशकहरूमा झन् झन् खराब हुँदै जाने उल्लेख गरेका छन् ।

जलवायू परिवर्तनका कारणले सामुद्रिक तुफान तथा बाढीको समस्या बारम्बार आइरहने प्रतिवेदनमा उल्लेख गरिएको छ । यस प्रकारको तुफान र आँधीले तटीय क्षेत्रमा अवस्थित ठुला शहरलाई समुद्रमा डुबाइदिन्छ । ती क्षेत्रहरू काटिएर टापु बन्न सक्ने सम्भावना पनि छ ।

अझ चक्रवात आएमा त्यसले ल्याउने विनाश विशाल हुनेछ । वैज्ञानिकहरूले यसका लागि तीनवटा मानक तयार पारेका छन् । कति तापक्रम बढ्दाखेरी ०.५ मिटर, १ मिटर वा २ मिटर जलस्तर बढ्नेछ भनी मानक बनाइएको छ । दुई मिटर जलस्तर बढेमा अमेरिकाको ठूलै क्षेत्र पानीमा डुब्नेछ ।

गत नोभेम्बर महिनामा नासाले गरेको अध्ययनमा सन् २०५० पछि नै अमेरिकाका लगभग सबै तट बढ्दो सामुद्रिक जलस्तरका कारण डुब्ने प्रक्षेपण गरिएको थियो ।

अनि सानातिना तुफानहरूका कारण समुद्री बाढी आउने खतरा पनि छ । न्युयोर्क, सान फ्रान्सिस्को, लस एन्जलस र भर्जिनिया जस्ता तटीय राज्यहरू समुद्रमा डुब्ने जोखिम छ ।

विश्व तापक्रममा वृद्धि अर्थात् ग्लोबल वार्मिङका कारण ध्रुवीय हिउँ पग्लिरहेको र त्यसले पनि समुद्रको जलस्तर बढाएको नासाको अध्ययनमा देखिएको छ ।

त्यसको असर अमेरिकामा मात्र नभई संसारभरि पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।