अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको टेनिसीस्थित नाश्भिल सहरको एउटा विद्यालयमा एक आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये ३ जना बालबालिका र अरू ३ जना कर्मचारी रहेका छन् ।

प्रहरीका अनुसार आक्रमणकारीको नाम अड्री हेल हो र उनी ट्रान्सजेन्डर हुन् । घटना स्थलमा प्रहरी पुग्दा हेलले विद्यालयको दोस्रो तलाबाट गोली प्रहार गरिरहेका थिए । उक्त गोली प्रहरीको गाडीमा लाग्दा सिसा फुटेर एक प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

विद्यालयभित्र प्रवेश गरेर प्रहरीले आक्रमणकारीमाथि गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।

विद्यालयमा प्रवेश गर्दा हेलसँग एउटा अर्धस्वचालित राइफलसहित तीनवटा बन्दुकहरू थिए ।

नजिकै पार्क गरिएको एउटा कारको खानतलासी गर्दा आक्रमणकारीले बाल्यकालमा उक्त विद्यालयमा अध्ययन गरेको आधार फेला परेको प्रहरीले जनाएको छ ।