
५ चैत २०७९, आइतबार
काठमाडौं, चैत ५ गते । दक्षिण कोरियामा मुख्य कार्यालय सञ्चालन गरी विश्व शान्तिको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दैआएको गैरसरकारी संस्था हेवेनली कल्चर, वल्र्डपिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले नेपालमा शाखा विस्तार गर्ने भएको छ ।

संयुक्त राष्ट्र संघमा आवद्ध रहेको सो संस्थाले विश्वभरी शान्तिको विषयमा जनचेतना फैलाउने गरी अभियान सञ्चालन गर्दैआएको र सो संस्था नेपालमा दर्ता गरेर शान्ति प्रक्रियामा काम गर्ने तयारी भएको संस्थाकी नेपाल प्रतिनिधि इभा श्रेष्ठले बताएकी छन् ।
सो संस्थाका अध्यक्ष मान ही लीले हाल रसिया र युक्रेनबीच भइरहेको युद्धलाई तत्काल रोकी शान्ति प्रक्रियामार्फत समस्या समाधानका लागि विश्वव्यापी हस्ताक्षर संकलन गरिरहेको र यसअघि गत मार्च १४ (फागुन ३०) गते रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र लेखी वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न लिखित आग्रह गरेको संस्थाले जनाएको छ ।

एचडब्लुपीएल नेपाल शाखाले शनिबार शान्ति प्रक्रिया र विद्यमान अवस्थाबारे पत्रकार तथा अन्य अगुवाहरुसँग छलफल तथा अन्तरक्रिया गर्दै नेपालको शान्ति प्रक्रिया अझै टुंगोमा पुगिनसकेको अवस्थामा संस्थामार्फत शान्ति प्रक्रियाको विषयमा आवश्यक सहकार्य गर्ने सो संस्थाका प्रतिनिधि श्रेष्ठले जानकारी दिएकी छन् ।
सो अवसरमा पत्रकार रञ्जन झा, कानुन व्यवसायी बालकृष्ण मैनाली, अधिकारकर्मी झविन्द्र भण्डारी, पत्रकार लक्की चौधरी, वसन्त खड्का, अध्यापक विवाकालिका मल्ल लगायतले शान्ति विश्वभरिका सबैलाई अपरिहार्य भए पनि त्यसबारेमा आवश्यक सचेतना जगाउन संस्थामार्फत भूमिका खेल्न आग्रह गरेका थिए ।
संस्थाका नेपाल प्रतिनिधि श्रेष्ठले एचडब्लुपीएलले विश्व शान्तिका लागि स्थापनाकालदेखि भूमिका निर्वाह गर्दैआएको र आगामी दिनमा नेपालमा पनि सरोकारवाला सबै पक्षसँग समन्वय गरी शान्तिको क्षेत्रमा संस्थाले भूमिका निर्वाह गर्ने बताएकी छन् ।