
केही दिन अघी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डलर र यूरोमा नभई रुबलमा ग्याँस र तेलको मूल्य तिर्न मध्यरातिसम्मको समय तोकेका थिए र सो समय सकिएको छ । यूरोपेली देशहरुले रुसलाई ग्याँसको रकम रुबलमा नतिरे आजबाट लागू हुने गरी पाइपलाइन नै बन्द गर्ने सम्भावना देखिएको छ ।

रुसले युक्रेनमाथि हमला गरेपछि अमेरिका, बेलायतलगायत यूरोपेली युनियन आवद्ध मुलुकहरुमध्ये धेरैले आर्थिक प्रतिबन्ध लगाएको झोकमा रुसले यो कदम लिन सक्ने अनुमान गरिएको छ । केही दिन अघी रुसले यूरोपेली देशहरुले ग्याँस र तेल खरिद गर्न चाहेमा रुबलमा तिर्नुपर्ने शर्त राखेको थियो । रकम नतिरे सित्तैमा दिन नसकिने भन्दै पाइपलाइन बन्द गर्ने चेतावनी समेत दिएको थियो ।
रुसबाट ४० प्रतिशत ग्याँसको उपभोग गर्ने यूरोप रुसी ग्याँसमा निर्भर छ । यूरोपमा अधिकांश हिटिङ र ऊर्जा रुसी ग्याँसबाट चल्ने गरेको छ । दैनिक नेपाली मूल्य २५ अर्ब देखि १ खर्ब रुपैयाँ बराबरको ग्यास रुसले यूरोपमा पठाउने गरेको छ ।
रुसले रुबलमा ग्याँस खरिद गर्नुपर्ने भनेपछि यूरोपका देशहरु अप्ठ्यारोमा परेका छन् । उनीहरु रुसबाट अन्य देशतर्फ विकल्प हेर्न थालेपनी त्यो तत्काल सम्भावना नरहेको बिज्ञहरुले बताएका छन् । ग्याँसको आपूर्ति कतार, अमेरिका जस्ता देशहरुबाट गर्न सकिने तर समय लाग्ने बिज्ञहरुले जानकारी दिएका छन् । बिज्ञहरुका अनुसार केही समय लाग्ने मात्रै होइन महङ्गो पनी पर्ने हुनसक्छ ।
रुसले रुबलमा मात्र सामान बेच्ने भनेपछि कोइला, धातु, रेयर अर्थ, मल, काठ, गुडागुडीको सामानको मूल्य पनि वृद्धि भएको श्रोेतले बताएको छ । कोइलाको मूल्य वृद्धि हुँदा विश्वभर कोइलाबाट उत्पादन हुने विजुलीको मूल्य उच्च भएको श्रोतले बताएको छ ।
