मकवानपुरमा बाल यौन दुरुपयोगको आरोपमा वडाध्यक्ष पक्राउ

मकवानपुरको कैलाश गाउँपालिका-९ का वडाध्यक्ष भुवन सिंह घलान पक्राउ भएको छ । बाल यौन दुरुपयोगको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन हेटौँडा आएका कैलाश गाउँपालिकाको एक विद्यालयका विद्यार्थीलाई वडाध्यक्षले बाल यौन दुरुपयोग गरेको आरोप रहेको छ ।

असार १८ मा सो घटना भएको भन्दै पीडितको तर्फबाट शुक्रवार प्रहरीमा उजुरी दिएका थिए । जिल्ला अदालत मकवानपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।