मोरङको लेटाङ झडप : घाँटीमा छुरा हानी महिला प्रहरीको हत्या

मृत महिला प्रहरी : उर्मिला श्रेष्ठ

विराटनगर । मोरङको लेटाङ–५ खेरुवामा स्थानीय शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया वालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको बिषयमा पिडित पक्षको उत्तेजीत भिडले सुरक्षाकर्मी महिला प्रहरीलाई छुरा प्रहार गरी हत्या गरेका छ्न् ।

प्रहरीका अनुसार मृत प्रहरीको घाँटी र छातीमा छुरा प्रहार गरिएको थियो । कोसी अस्पतालमा राति ११ बजे शव ल्याइएकी श्रेष्ठको घाँटीमा ठूलो प्वाल रहेको आकस्मिक कक्षका एक चिकित्सकले बताए ।

होलीका दिन होली खेल्ने क्रममा पिडित कक्षा ६ मा पढ्ने १२ वर्षीया छात्राको घरमा आएका ५६ वर्षीय शिक्षक मनोज पौडेलले छात्रालाई यौनदुर्व्यवहार गरेको बताएकी थिइन । उक्त घटनाबारे शिक्षक र अविभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले आक्रमण गर्दा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

श्रेष्ठलाई आक्रोशित भिडले छुरा प्रहार गरेको र उनको उपचारकालागि विराटनगर लैजाने क्रममा मृत्यु भएको दाहालले बताए । प्रजिअ दाहालका अनुसार आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्याँस र हवाई फायर गरेको थियो । त्यस क्रममा लेटाङ ८ का मिलन खड्का र आयुष लिम्बुलाई प्रहरीको गोली लागेको छ । अवस्था सामान्य रहेका उनीहरुको नोवेल शिक्षण अस्पतालमा उपचार भइरहेको दाहालले वताए ।

उत्तेजित भीडले पौडेलसहित अन्य शिक्षकलाई पनि बन्धक बनाएर आक्रमण गर्ने प्रयास गर्दा स्थितीलाई नियन्त्रण गर्न पुगेका प्रहरीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । त्यसक्रममा थप १६ जना सुरक्षाकर्मी घाइते भएको प्रजिअ दाहालले वताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।