कहाँ गए सन्दीप लामिछाने?

प्रहरी र क्यानको सम्पर्कमा छैनन्, दुबईमा भएको अनुमान

सन्दीप लामिछाने

१७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका एकसाता भइसकेको छ ।
गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। पुर्जी जारी गर्नेबित्तिकै प्रहरीले लामिछानेलाई जहाँ भेट्यो त्यही पक्राउ गर्न सकिने बताएको थियो।
एकसाता बितिसक्दा पनि लामिछाने पक्राउ परेका छैनन् । उनी अहिलेसम्म पनि पक्राउ नपरेपछि उनी कहाँ गए भन्ने चासो व्यक्त भइरहेको छ। सामाजिक सञ्जालमा उनी भागिसकेका त होइनन् भन्ने प्रश्न पनि उठ्न थालेको छ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका उनी घटना भएको भोलिपल्टै केन्या पुगेका थिए। भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पुर्‍याएर पटक-पटक बलात्कार गरेको आरोप उनीमाथि छ । भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार लामिछाने केही दिनअघि नै नेपाल आउन लागेका थिए। तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द समेत गरेको स्रोतले बताएको छ।