‘गोल्ड मेडलिस्ट’ उपसचिव २२ लाख घुससहित पक्राउ

१७ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर समेत पाएका थिए । छात्रवृत्तिमा अध्ययन गरेर फर्किएको आठ महिना पुग्दा नपुग्दै घुससहित रंगेहात पक्राउ परे ।

पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले मंगलबार विहानैदेखि उपसचिव नेपालको निगरानी गरेको थियो । नेपालले नागपोखरीस्थित होटल अरण्यमा घुस लिएको सुनिश्चित भएपछि टोलीले पक्राउ गर्‍यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाल ६ लाख रुपैंया सहित पक्राउ परे ।

‘प्याराग्लाइडिङको उडान अनुमतिका लागि उहाँले घुस मागेको र त्यो रकम लिएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो,’ अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, ‘नियन्त्रणमा लिएर खानतलासी गर्दा उहाँको साथबाट ६ लाख बरामद भएको हो । अरु साढे १६ लाख रुपैंया गाडीमा भेटियो ।’

पर्यटकीय स्थलमा प्याराग्लाइडिङको अनुमति दिने काम नेपाल नागरिक उड्डयन प्राधिकरणको हो । प्याराग्लाइडिङ सञ्चालन गर्ने व्यवसायीहरुले प्राधिकरणबाटै अनुमति लिनुपर्छ । तर त्यसका लागि मन्त्रालयको सैद्धान्तिक सहमति समेत चाहिन्छ ।

पर्यटन मन्त्रालयमा नागरिक उड्डयन महाशाखा छ । उक्त महाशाखा अन्तर्गत हवाई उद्योग तथा अन्तराष्ट्रिय सम्बन्ध शाखा र हवाई सुरक्षा तथा दुर्घटना जाँच शाखा छन् । उनी वाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रमुख हुन् । एउटा शाखाको जिम्मेवारी भएपनि उनले नागरिक उड्डयन हेर्ने महाशाखामा हावी रहेको मन्त्रालयका एक उपसचिवले बताए । उनकै निर्णयका आधारमा ‘उडान योग्यता अनुमतिपत्र’ जारी हुनुपर्ने थियो । त्यही सहमति लिने क्रममा उपसचिव नेपालले व्यवसायीसँग घुस रकम मागेका थिए ।

अख्तियारको टोलीले रंगेहात पक्राउ परेका कर्मचारीको साथबाट रकम बरामद भएपछि साथमा रहेका अरु सामानको पनि खानतलासी गर्छ । झोला, कागजपत्र र अरु सामान पनि हेर्छ । अख्तियारको टोलीले उनले साथमा लगेको सरकारी गाडीको पनि खानतलासी लिन थाल्यो, त्यसक्रममा थप साढे १६ लाख रुपैयाँ भेटिएको हो ।

६ लाख रुपैंया घुसका अतिरिक्त थप साढे १६ लाख रुपैंया भेटिएपछि अख्तियारको टोलीले उनीसँग थप सोधपुछ गर्‍यो । उनले त्यो रकम कहाँबाट, किन, केकालागि गाडीमा राखेको भन्ने खेलाउन सकेनन्, अर्थात् त्यो रकमको स्रोत खुलेन । अख्तियारले त्यो रकम समेत बरामद गरेर उपसचिव नेपाललाई पक्राउ गरेको छ ।

उनको साथबाट साढे २२ लाख रुपैंया बरामद भए पनि ६ लाख रुपैयाँ घुस हो भने बाकी साढे १६ लाख रुपैंया स्रोत नखुलेको रकम हो । अख्तियारले उनलाई बुधबार विशेष अदालतमा पेश गरेर पक्राउको म्याद थप गर्नेछ र अरु थप अनुसन्धान थाल्नेछ ।

गोल्डमेडलिस्ट उपसचिव

पाल्पाका नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका थिए । सरकारी सेवामा प्रवेश गरेपछि उनले नागरिक उड्ययन प्राधिकरणमा काम गरेका थिए । एयर ट्राफिक कन्ट्रोलर(एटीसी० पनि भएका थिए ।