भारतीय अभिनेता सनी देओल ’रामायण’ मा हनुमानको रोलमा देखिने

भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार निर्देशक नितेश तिवारीले निर्माण गर्न लागेको फिल्म ’रामायण’ मा हनुमान बन्न प्रस्ताव गरेपछी भारतमा ब्यापक चर्चा चलेको छ । बलिउड अभिनेता सनी देओलको हालै फिल्म ’गदर २’ प्रदर्शन भएको थियो । फिल्मले भारतीय बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो ।

फिल्ममा सनी देओल तारा सिंह बनेका थिए । अब उनी भगवान हनुमानको भूमिकामा देखिने चर्चा चलेको छ । फिल्मलाई लिएर सनी पनि उत्साहित रहेको बताइएको छ । तर औपचारिक रूपमा फिल्म साइन गरेका छैनन् ।

निर्देशक नितेश, मधु मन्टेना, नमित मल्होत्रा र अल्लू अरविन्दको लगानी रहने फिल्ममा अभिनेता रणवीर कपूर रामको भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको । केजिएफ अभिनेता यश रावणको भूमिकामा देखिने चर्चा छ ।

यो फिल्म तीन भागमा बन्ने बताइएको छ । पहिलो भागमा राम र सीताको कहानी समावेश गरिनेछ । जसमा यशको केमियो भूमिका रहनेछ ।यो फिल्मको छायांकन सन् २०२४ देखि सुरू गरिनेछ । प्यान इन्डियाको फिल्म सन् २०२५ प्रदर्शन हुनेछ ।