
काठमाडौं । भारतिय चर्चित गायक अरिजित सिंह लाइभ कन्सर्टका लागि नेपाल आउने भएका छन् । आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले काठमाडौंको चावहिलस्थित हायात ग्राउन्डमा अरिजितले सांगीतिक प्रस्तुति दिने जानकारी दिएको छ ।

आयोजक टिमले २०१९ देखि अरिजितलाई नेपाल ल्याउने प्रयास बल्ल सफल हुन लागेको बताएको छ ।
भारतमा रुचाइएका पार्श्व गायकमा पर्ने अरिजितका नेपालमा समेत थुप्रै फ्यान छन् । उनका ‘तुम हि हो’, ‘केसरिया तेरा’, ‘खैरियत’, ‘अपना बना ले’ लगायत थुप्रै गीत चर्चित छन् ।

‘अरिजीत सिंह लाइभ इन नेपाल’ नाम दिइएको नेपाल कन्सर्टको अर्ली बर्ड टिकट ४ हजार र साधरण टिकट ५ हजार रुपैयाँ तोकिएको छ । साउन ३० गतेबाट खल्ती डिजिटल वालेटमार्फत टिकट खरिद गर्न सकिने जनाइएको छ । कन्सर्टमा १० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ ।