१०० किलो भनेर बरामद गरेको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्र

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद गरिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।

गाल्नुअघि सुन ६० किलो ७८९ ग्राम थियो । गाल्दा खेरि सुन ७३ ग्राम घटेको छ ।

राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।

सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो । सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो ।