
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका तत्कालीन आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्र प्रसाद भारीसहित १६ जनाविरद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा भ्रष्टाचार भएको खुलेको प्रवक्ता भोला दाहालले बताए । सचिवलगायतले कर्णाली कोल्डचेन लजिस्टिक, सुर्खेतलाई बयानब्बे लाख त्रिचालीस हजार दुई सय अन्ठानब्बे रुपैया भुक्तानी गरेर भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको भनाइ छ ।
अख्तियारले सुर्खेतका प्रतिष्ठित व्यवसायीहरुमाथि पहिलोपटक भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो। सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश अधिकारी, राष्ट्रिय बाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष कलाधर उपाध्याय, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, उद्योग व्यापार संगठन कर्णाली प्रदेश ईन्चार्ज प्रवल शाही र महेश शर्मासहित १६ जनालाई प्रतिवादी बनाएको छ ।

यसैगरी, कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव भारी, गणेश भण्डारी, हरि प्रसाद पण्डित, हरि बहादुर थापा, भक्तिराम शर्मा, गुरु प्रसाद अधिकारी, उत्तम कुमार बस्नेत, खिमलाल वली, सुरेश कुमार थापा, उषा ठाडा, सुवर्णराज भारती र महेश शर्माविरुद्धमा पनि मुद्दा दर्ता गरेको छ।