प्रदेशका तीन मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। नेपाली कांग्रेसबाट मन्त्री बनेका तीनजनाको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सार्वजनिक सम्पत्ति विवरणअनुसार कांग्रेसका तीन मन्त्रीमध्ये सबैभन्दा धनी आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह देखिएका छन् । उनीसँग विभिन्न कम्पनीका गरी १० वटा त मोबाइल मात्र छन् ।जाजरकोटको बारेकोट गाउँपालिकाका अर्थमन्त्री सिंहसँग बरेकोट गाउँपालिकाको वडा नम्बर ८ मा पुर्ख्यौली २ वटा घर छ भनें जाजरकोटकै भेरी नगरपालिका ३ मा साढे तीनतलाको पक्की घर छ । मन्त्री सिंहले बारेकोट–८ मा अंश भागबाट ३ रोपनी जग्गा र बाँकेको कोहलपुर–६ मा १.५ कठ्ठा जग्गा ऋण सापटबाट प्राप्त गरकोे उल्लेख गरेका छन् । उनको चल सम्पत्तिमा २० तोला सुन र १५ तोला चाँदी छ भने सुन विभिन्न स्रोतबाट ५ लाखमा र चाँदी ५० हजारमा खरिद गरिएको गरेको जानकारी दिएका छन् ।यस्तै उनले ऋण सापट र अन्य स्रोतबाट जाजरकोटमा रहेको लक्ष्मी बैंकमा २ लाख रकम मौज्दात रहेको र एनएमबी बैंक सुर्खेतमा सेवा सुविधाबापतको १ लाख रकम मौज्दात रहेको उल्लेख गरेका छन् । उनले धितोपत्र, सेयर वा ऋणपत्र विवरण शीर्षकमा सेयर लगानी उल्लेख गरे पनि कुन कम्पनी भन्ने खुलाएका छैनन्। उनीसँग ६० लाख मूल्यपर्ने इसुजु हाइलेन्डर गाडी छ भने ३२ लाख पर्ने बोलेरो जिप र २ लाख ५० हजार बराबरको स्कुटर व्यवसायबाट जोडेको देखाएका छन् । स्रोत भने खुलाएका छैनन् ।
