शिव शिखर सहकारीको १४ अर्ब रुपैयाँ ठगीका नाइके भारतबाट पक्राउ

सहकारीमार्फत करिब १४ अर्ब रुपैयाँ ठगीका नाइके केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईमा पक्राउ परेका छन् । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले त्यहाँ लुकेर बसेको अवस्थामा सोमबार पक्राउ गरेर नेपाल ल्याएको हो ।

शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको निक्षेप हिनामिना गरेको छ । उक्त हिनामिनाको मुख्य नाइके शर्मा भएको अनुसन्धानमा खुलेपछि उनलाई भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको छ । अन्य जिल्लामा उनीविरुद्ध अनुसन्धान जारी छ ।

सहकारीमा समस्या आएपछि केही महिनायता उनी भारतमा बस्दै आएका थिए । बाँकेको कोलहपुर स्थायी घर भएका न्यौपानेले सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायत ठाउँमा लगानी गरेकोसमेत अनुसन्धानमा खुलेको छ ।

सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले शर्मालाई पक्राउ गरिएको पुष्टि गरिन् । उनलाई मंगलबार अदालतमा उपस्थित गराइने बज्राचार्यको भनाइ छ । न्यौपनाले भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको पूर्वअध्यक्ष हुन् । उनले सहकारीको पैसा नियमविपरीत आफ्ना निजी कम्पनीमा लगानी गरेका थिए । ती कम्पनीको व्यापार खस्किएपछि सहकारी समस्यामा पर्‍यो । जसकारण निक्षेपकर्ताहरूले आफ्नो पैसा फिर्ता पाएका छैनन् । हाल सहकारी बन्द छ । नेपालको सहकारी क्षेत्रमा यो अहिलेसम्मकै ठूलो ठगी हो । सो सहकारीबाट एक लाखभन्दा धेरै पीडित रहेको प्रहरी अधिकारी बताउँछन् ।

सिआइबीले सो सहकारीका सञ्चालकद्वय अमिस भण्डारी र पुष्कर मल्ललाई पक्राउ गरिसकेको छ । न्यौपानेकी श्रीमती गीता शर्मा पनि पक्राउ परेकोमा उनीहरू तीनैजना जेल चलान भइसकेका छन् । भक्तपुरमा प्रहरीले १० जनाविरुद्ध मुद्दा दायर गरेकोमा सातजना फरार थिए । जसमध्ये पूर्वअध्यक्ष न्यौपाने पक्राउ परेका हुन् । काठमाडौंलगायत अन्य जिल्लामा छुट्टै अनुसन्धान भइरहेको छ ।

न्यौपाने अध्यक्ष रहेको विराटनगरको तुलसी सहकारीको ठगी प्रकरणमा पनि मोरङ जिल्ला अदालतमा गत महिना मुद्दा दायर भएको थियो । जसमा उनलाई मुख्य प्रतिवादी बनाइएको छ । उनको कम्पनीको सम्पत्ति रोक्का भइसकेको छ ।