नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा खुम्चिन सक्ने

एसियाली विकास बैङ्क (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा खुम्चिने अनुमान र्सावजनिक गरेको छ । सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर गत वर्षभन्दा संकुचित हुने अनुमान सार्वजनिक गरेको हो ।

एडिबीले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) को पछिल्लो संस्करणमा सो कुरा उल्लेख गरिएको हो । चालू वर्ष ४.१ प्रतिशत र आगामी वर्ष ५.० प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

कडा मौद्रिक नीति, सुस्त घरेलु माग, कोभिड राहत फिर्ता र प्रतिकूल विश्व परिदृश्यका कारण नेपालको कुल गार्हस्थ्य उत्पादन सुस्त हुने एडिबीले जनाएको छ । प्रतिवेदनले नेपालको कृषि क्षेत्रको वृद्धि यस वर्ष गत वर्षको २.३ प्रतिशतको तुलनामा घटेर २ प्रतिशत मात्र हुने उल्लेख गरेको छ ।

सन् २०२३ मा नेपालको मूल्य वृद्धि चालु गत आर्थिक वर्षको तुलनामा बढेर ७. ४ प्रतिशत हुने र चालु खाता घाटा घटेर ४ प्रतिशत मात्र हुने उल्लेख गरेको छ । विश्व अर्थतन्त्रको समस्याले नेपालको पर्यटन र रेमिट्यान्स आप्रवाहलाई धक्का दिने जोखिम देखिएको एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नाउड काउचोइसले बताएका छन् ।