डोटीमा कालिका लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

चैत्र १९, डोटी । कालिका लघुवित्त वित्तीय संस्थाले डोटीको के.आई.सिंह गाउँपालिका वायलमा महिला विकास केन्द्र प्रमुख तथा उपप्रमुख गोष्टी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरुलाई संस्थाको वर्तमान अवस्था, नीति, नियमहरु बारे जानकारी गराउनु र उनीहरुमा वित्तीय साक्षरता प्रवर्द्धन गर्नु रहेकाे अायाेजकले बताएका छन् ।

कालिका लघुवित्त अनुगमन प्रमुख राजेन्द्र दुलालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिनादेवी विष्ट, विशेष अतिथिमा के.आई.सिंह गाउँपालिका वडा-४ का वडा अध्यक्ष जय बहादुर धामी, अतिथिहरुमा इलाका प्रहरी कार्यालयका प्रमुख चन्द्र बहादुर कार्की, शाखा कार्यालय वायलका शाखा प्रमुख महेस जोशी, अमरगढी शाखाका प्रमुख बम बहादुर मल्ल र शिखर शाखा प्रमुख एलिशा बोहोरा रहेका थिए ।

शाखा कार्यालयका कर्मचारी महेन्द्र विष्टले अतिथि तथा उपस्थितहरूलाई स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा शाखा कार्यालय अमरगढी शाखाका प्रमुख बमबहादुर मल्लले समूहको जिम्मेवारी र केन्द्र प्रमुख र उपप्रमुखको महत्वबारे बताएका थिए । शाखा कार्यालय शिखरका प्रमुख एलिसा बोहराले कालिका लघुवित्तले प्रदान गरेको सेवा सुविधाको बारेमा जानकारी दिँदै भविष्यको लागि बचत अपरिहार्य भएको बताईन् । शाखा कार्यालयका शाखा प्रमुख महेश जोशीले कार्यक्रमको औचित्य र कालिकाले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी गराएका थिए ।

वडा नं ४ का वडा अध्यक्ष जयबहादुर धामीले कार्यक्रम आयोजना गरेकोमा कालिका लघुबित्त प्रती आभार प्रकट गर्दै उपस्थित प्रतिनीधिहरूलाई आफ्नो आवश्यक्तालाई बुझेरमात्र कर्जा लिन आग्रह गरेका थिए । प्रहरी प्रमुख चन्दसिंह कार्कीले लघुवित्तबाट प्राप्त गरेको ऋणलाई प्रभावकारी रुपमा उपयोग गरी पैसा खेर नफाल्न उपस्थितहरुलाई सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि मिनादेवी विष्टले कालिकाको ५ वर्ष सदस्य भएर आफ्नो अनुभव र संस्थामार्फत आफूले मनग्य आम्दानी गरेको बताइन् ।

कार्यक्रमले बचत र ऋण सम्बन्धी समस्याहरूबारे छलफल गर्ने र कार्यक्रममा उठेका विभिन्न जिज्ञासाहरूलाई सम्बोधन गर्ने मञ्च पनि प्रदान गरेको थियो । यसका साथै कालिका लघुवित्तले विभिन्न केन्द्रबाट उत्कृष्ट चार जना सदस्यहरुलाई सम्मान पत्र वितरण गरी सम्मान गरेको थियो ।

संस्थाका अनुगमन प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष राजेन्द्र दुलालले उपस्थितलाई बचतको अपरिहार्यता, संस्थाको आवश्यकता, संस्थाको पछिल्लो अवस्था, संस्थाको नीति नियम वारे वित्तीय साक्षरताका बारेमा बहुमूल्य अन्तर्दृष्टिका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । साथै, दुलालले कार्याक्रममा उठेका जिज्ञासा र प्रश्नहरूलाई स्पष्ट पार्दै कार्याक्रमको समापन गरेका थिए ।