सात महिनामा व्यापार घाटा ८ खर्ब २५ अर्ब

सात महिनामा व्यापार घाटा ८ खर्ब २५ अर्ब रहेकाे छ ।

चालु आर्थिक बर्ष २०७९/८० को सात महिनामा आयातसंगै निर्यात पनि घटेको छ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार आयात १९.९ प्रतिशतले र निर्यात २९ प्रतिशतले घटेको हो ।

तथ्याङ्क अनुसार सो अवधिमा नेपालले कुल ९ खर्ब १९ अर्ब १७ करोड रूपैँया बराबरको सामान आयात र ९३ अर्ब ४३ करोड रूपैँया बराबरको सामान निर्यात गरेको छ ।

यस्तै, सात महिनामा कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले कमी आई ८ खर्ब २५ अर्ब ७३ करोड रूपैँया कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८.४ प्रतिशतले बढेको थियो ।

वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

यस्तै, अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८.० प्रतिशत, २४.३ प्रतिशत र २२.० प्रतिशतले कमी आएको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्प सम्पूणर् प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ

समीक्षा अवधिमा निर्यात-आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ७१ अर्ब ७८ करोड रूपैँया बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब २८ अर्ब १७ करोड रूपैंया बराबरको भएको थियो ।