
नेपाली परम्परामा दही र चिउरा मिसाएर खाने प्रचलन रहेको छ । दही–चिउरा खाने दिन भनेर असार १५ लाई भनिएको भएतापनि दही–चिउरा खाजाको रूपमा खाने प्रचलन नै रहेको छ । दही र चिउरा मिसाएर खाँदा थप फाइदा पाउन सकिन्छ । गर्मी याममा बढी पसिना जाने, बढी परिश्रमका साथ काम गर्नुपर्दा शक्ति खपत हुनेहुँदा दही–चिउरा मिसाएर खाँदा पानीको मात्रा पनि परिपूर्ति हुन्छ, शीतल हुन्छ, तिर्खा मेटिन्छ, डम्म अघाइन्छ र पुनः काम गर्न सकिन्छ । खेर गएको शक्ति आपूर्ति हुन्छ र शरीरमा आवश्यक अन्य तत्व पनि प्राप्त गर्न सकिन्छ ।

दही र चिउराका साथ केरा, आँप वा अन्य फलफूल पनि मिसाएर खाएमा अझ राम्रो हुन्छ, किनकि यसबाट थप शक्ति र अन्य तत्वहरू पनि प्राप्त हुन्छ । तर दहीमा सकभर चिनी मिसाएर खानु राम्रो हुँदैन । गुलियोको आवश्यकता परेमा केरा वा आँप मिसाएर खाँदा धेरै लाभ पाउन सकिन्छ । दही–चिउरासँगै थप तरकारी वा अचार मिसाएर खान पनि सकिन्छ । दही–चिउरा तयार गर्न पनि सजिलो हुने किनकि कामको चाप परेको बखत यो राम्रो खाजाको रूपमा हुनसक्छ भने बढी परिश्रम गर्नुपर्ने, बढी पसिना आउने, गर्मी हुने बखतमा दही–चिउरा खानु स्वास्थ्यका लागि अति लाभदायक छ ।
विभिन्न गुणले भरिपूर्ण दही र चिउरा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । गर्मी मौसममा त दही मानिसको लागि एक वरदान नै हो, जसको सेवनले शीतलता दिन्छ र छिटो प्यास लाग्दैन । दहीमा पाइने प्रोबायोटिक्स्को गुणले गर्दा पाचन प्रणालीमा हुने लाभदायक ब्याक्टेरियाको सङ्ख्या बढ्न गई पाचन प्रणालीमा लाग्ने तमाम रोगहरू समाधान हुन्छन् ।

तर दही खाँदा समय मिलाउनुपर्ने हुन्छ । बिहानको खानामा दही, मही, कम नुन राखेको अचार आदि खानुपर्छ र राम्रोसँग पाचन हुने गर्छ । दही खाँदा बिहानको समय उत्तम र त्यसपछि दिउँसोको समयमा पनि ठिक हुन्छ तर दही रातमा खानु त्यति राम्रो मानिंदैन । राति खाएको दहीले चिसो लाग्न सक्ने र पाचनमा प्रतिकूल प्रभाव पर्न सक्छ । अपच हुने र पेट बिग्रने एउटा मुख्य कारण खाना खान नजान्नु, नमिलाउनु र समयको बारेमा जानकार नहुनु हो । जेहोस् दही–चिउरा खान असार १५ गते नै कुर्नुपर्दैन र यसलाई कहिलेकाहीं स्वस्थकर खाजाको विकल्पका रूपमा समेत खाँदा फाइदा नै हुन्छ र आफ्नो स्वास्थ्यको ख्याल गरेर खानु नै उत्तम हुन्छ ।