जस्ले २७ वर्षसम्म अफिसमा एकदिन पनि विदा लिएनन्, अन्तिममा पाए ३ करोड पुरस्कार !

काठमाडौं । दैनिक जीवनमा विभिन्न आकस्मिक तथा अन्य निजी जरुरी कामहरु पर्दछन् जसले गर्दा आफ्नो व्यवसाय तथा जागिरबाट छुट्टी लिनुपर्ने हुन्छ । कतिपय कामचोर व्यक्तिहरु भने अफिसमा विभिन्न बहाना बनाएर विदा बसिरहेका हुन्छन् । केही कर्मचारी चाहिं आफ्नो कामप्रति निकै दत्तचित्त हुन्छन् र सित्तिमित्ति विदा लिँदैनन् ।

यस्तै इमान्दार तथा कामप्रति समर्पित कर्मचारी अमेरिकामा फेला परेका छन् । ती कर्मचारीले पछिल्लो २७ वर्षसम्म एक दिन पनि विदा नलिइकन काम गरिरहे । कम्पनीले ती बफादार कर्मचारीलाई हम्बल गूडी ब्याग प्रदान गरको थियो ।

तर ती कर्मशील मानिसलाई मनकारीहरुले करोडौं रुपैयाँ दान दिएका छन् । अमेरिकाको लस भेगासस्थित बर्गर किङ रेष्टुरेन्ट चेनमा कार्यरत कर्मचारी केभिन फोर्डले कम्पनीमा काम गरिरहँदा पछिल्लो २७ वर्षदेखि विदानै लिएका छैनन् ।

५४ वर्षका केभिन कम्पनीमा खजान्चीको रुपमा कार्यरत छन् । सन् १९९५ देखि उनी बर्गर किङको विमानस्थलस्थित शाखामा काम गरिरहेका छन् ।

उनले कम्पनीमा काम थालेको २७ औं वर्षगाँठका अवसरमा कम्पनीले उनलाई मूभी टिकट, स्टारबक्स कप, क्याण्डी तथा चकलेटले भरिएको झोला उपहार दिए । साथै उनका सहकर्मीहरुले पनि उनलाई बधाई तथा धन्यवाद दिए ।

आफ्ना बुवाको कम्पनीप्रतिको बफादारिताका विषयमा केभिनकी छोरीले न्यँगलमःभ नामक पेज तयार गरिन् र करीब २ सय डलर रकम जुटाउन आह्वान गरिन् । तर मनकारी मानिसहरुले दिल खोलेर सहयोग गर्न थाले । हालसम्म उनको उक्त पेजमा ३ लाख डलरभन्दा धेरै दान प्राप्त भैसकेको छ । आर्थिक सहयोग रकम अझै बढिरहेको छ ।

-एजेन्सी