- कार्तिक १६, २०८२
- No Comment
- 73
कारागारबाट फरार कैदी सहित सुर्खेतमा ५ जना पक्राउ
सुर्खेत। सुर्खेत प्रहरीले दुई फरक स्थानबाट लागूऔषध (ब्राउनसुगर) सहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना पहिला कैद सजाय भुक्तान गर्दै आएका र जेन(जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए।
प्रहरीका अनुसार, पहिलो घटनामा २०८२ कार्तिक १४ गते दिउँसो अन्दाजी २ बजेर ३० मिनेट जाँदा वीरेन्द्रनगर नगरपालिका–७ स्थितमा लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण शाखा सुर्खेतबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियाे ।
उक्त क्रममा वीरेन्द्रनगर–७ का ३० वर्षीय नरेन्द्र ठाडा र वीरेन्द्रनगर–८ की १९ वर्षीया ललिता तामाङलाई शंकास्पद अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। नियन्त्रणामा लिएर जाँचबुझ गर्दा ठाडाको साथबाट ५३० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।
ठाडा यसअघि काठमाडौंको जगन्नाथदेवल कारागारमा लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए र २०८२ साउन २४ गते जेन–जी आन्दोलनको क्रममा फरार भएका हुन्।
त्यसैगरी, दोस्रो घटनामा सोही दिन राति अन्दाजी ८ बजेर ३० मिनेटतिर वीरेन्द्रनगर नगरपालिका–११ स्थित शुभकुना क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।
संयुक्त टोलीले नेपालगंजबाट सुर्खेत आउँदै गरेको क।प्र। ०२–००१ ज। ०७०९ नम्बरको ई।भी। गाडी रोकी चेकजाँकका क्रममा उनिहरूकाे ब्यवहार संकास्पद देखिएपछी नियन्त्रणमा लिएकाे थियाे ।
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–११ का १८ वर्षीय बिशाल ठाडा मगर, वीरेन्द्रनगर–१२ का २२ वर्षीय राजु सुनार र वीरेन्द्रनगर–७ का १८ वर्षीय रमेश सुनार रहेका छन्।
खाेजतलासीका क्रममा उनीहरूको साथबाट २ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै पाँच जनामाथि लागूऔषध ऐन अनुसार मुद्दा दर्ता गरी म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।