• जेष्ठ २६, २०८३
  • No Comment
  • 9

गर्मीमा छालाको स्याहार कसरी गर्ने ?

हेटौंडा । गर्मी तथा वर्षायाममा छालासम्बन्धी समस्या बढ्ने भएकाले छालाको उचित स्याहारमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। उनीहरूका अनुसार शरीरका अङ्गहरूमध्ये छाला सबैभन्दा संवेदनशील भएकाले घाम, संक्रमण तथा अस्वस्थ जीवनशैलीबाट यसलाई जोगाउन आवश्यक छ।

चिकित्सकका अनुसार घाममा बढी पर्ने शरीरका खुला भागहरूमा छिटो असर देखिने भएकाले बच्चादेखि वृद्धसम्म सबैले घामबाट जोगिने उपाय अपनाउनुपर्छ। एक दिनको अत्यधिक घामले पनि छालामा क्षति पुर्‍याउन सक्ने उनीहरूको भनाइ छ।

वर्षायाममा भने ब्याक्टेरिया, भाइरस तथा फंगसजन्य संक्रमणको जोखिम बढ्ने गर्दछ। यस समयमा धाउ पाक्ने, पिलो आउने, शरीरका काप–कापमा संक्रमण हुने तथा गोडाका औँलामा छालाका पत्र छुट्टिने समस्या देखिन सक्छन्। लामो समयसम्म शरीरका भागहरू चिसो र ढाकिएको अवस्थामा रहँदा फंगसको संक्रमण बढ्ने चिकित्सकहरू बताउँछन्।

विशेषज्ञहरूका अनुसार फेसवास तथा क्रिम प्रयोग गर्नुअघि आफ्नो छालाको प्रकृति पहिचान गर्नु आवश्यक हुन्छ। सामान्य, सुख्खा, चिल्लो, मिश्रित वा संवेदनशील छालाअनुसार फरक–फरक उत्पादन प्रयोग गर्नुपर्ने हुन्छ।

यसका लागि छालारोग विशेषज्ञसँग परामर्श गरी छालाको प्रकृति थाहा पाएपछि मात्रै उपयुक्त फेसवास, मोइस्चराइजर तथा क्रिम छनोट गर्न सुझाव दिइएको छ। गर्मी र जाडो मौसममा पनि फरक प्रकारका क्रिम प्रयोग गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ।

चिकित्सकहरूका अनुसार छाला शरीरको समग्र स्वास्थ्यको ऐना हो। शरीरका अन्य अंगमा समस्या हुँदा पनि त्यसको असर छालामा देखिन सक्छ। पेटसम्बन्धी रोग, थाइराइड, मधुमेहलगायतका स्वास्थ्य समस्याले पनि छालामा असर पुर्‍याउन सक्छन्।

राति अबेरसम्म जाग्राम बस्ने, धूम्रपान तथा मद्यपान गर्ने बानीले छालाको स्वास्थ्य बिगार्न सक्ने बताइएको छ। हरियो सागसब्जी, फलफूल तथा प्रशस्त पानीको सेवनले छालालाई स्वस्थ राख्न सहयोग पुग्ने चिकित्सकहरूको सुझाव छ।

त्यस्तै नियमित शारीरिक व्यायाम पनि छालाको स्वास्थ्यका लागि आवश्यक मानिएको छ। मोटोपन बढ्दै जाँदा डन्डीफोर आउने, हार्मोनल परिवर्तन हुने, घाँटीको पछाडिपट्टि तथा काखीमा कालोपन देखिने समस्या हुन सक्ने चिकित्सकहरूले बताएका छन्।

लामो समय मोबाइल, कम्प्युटर तथा अन्य डिजिटल स्क्रिनको प्रयोग गर्दा छालामा नकारात्मक असर पर्न सक्ने चिकित्सकहरू बताउँछन्। यस्ता उपकरणबाट निस्कने निलो प्रकाश (ब्लु लाइट) ले छालामा विभिन्न समस्या निम्त्याउन सक्छ।

विगतमा गर्भवती महिलामा बढी देखिने चाया–पोतोको समस्या अहिले लामो समय स्क्रिनमा काम गर्ने पुरुषहरूमा समेत देखिन थालेको चिकित्सकहरूको भनाइ छ। अत्यधिक स्क्रिन प्रयोग गर्ने व्यक्तिहरूमा कम उमेरमै छालामा बुढ्यौलीका लक्षण देखिन सक्ने बताइएको छ।

चिकित्सकहरूका अनुसार बिहानको समयमा फेसवास प्रयोग अनिवार्य नभए पनि साँझमा अनुहार सफा गर्न फेसवास प्रयोग गर्नु उपयुक्त हुन्छ।

सनस्क्रिन भने छालाको प्रकृतिअनुसार चिकित्सकको सल्लाहमा प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ। अधिकांश सनस्क्रिनको प्रभाव तीनदेखि चार घण्टासम्म रहने भएकाले आवश्यकताअनुसार पुनः प्रयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।

घरमै दही, कागतीलगायतका सामग्री प्रयोग गरेर फेसप्याक बनाउने चलन वैज्ञानिक रूपमा उपयुक्त नभएको भन्दै चिकित्सकहरूले त्यस्ता उपाय अपनाउन नहुने सुझाव दिएका छन्।

छालाको स्याहारका लागि के गर्ने?

  • बिहान अनुहार सफा गर्ने।
  • छालाको प्रकृतिअनुसार मोइस्चराइजर प्रयोग गर्ने।
  • नियमित रूपमा सनस्क्रिन लगाउने।
  • प्रशस्त पानी पिउने र सन्तुलित आहार खाने।
  • नियमित व्यायाम गर्ने।
  • राति सुत्नुअघि फेसवास गरी आवश्यक क्रिम प्रयोग गर्ने।

विशेषज्ञहरूका अनुसार छालाको सही स्याहार र स्वस्थ जीवनशैली अपनाएमा गर्मी तथा वर्षायाममा देखिने अधिकांश छालासम्बन्धी समस्याबाट बच्न सकिन्छ।

सम्बन्धित खबर

  सुर्खेतमा बैंकिङ कसूर मुद्दाका एक जना पक्राउ

  सुर्खेतमा बैंकिङ कसूर मुद्दाका एक जना पक्राउ

सुर्खेत — बैंकिङ कसूर (चेक अनादर) मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयन अभियानअन्तर्गत…
चौकुने गाउँपालिकामा सामाजिक सुरक्षा कोष सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा सामाजिक सुरक्षा कोष सम्बन्धी १ दिने अभिमुखीकरण…

सुर्खेत। चौकुने गाउँपालिका तथा सामाजिक सुरक्षा कोष र EWPN कार्यक्रमको संयुक्त आयोजनामा सामाजिक सुरक्षा कोष सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न…
गृहमा सुधन, विज्ञान तथा प्रविधिमा महावीर सिफारिस

गृहमा सुधन, विज्ञान तथा प्रविधिमा महावीर सिफारिस

काठमाडौं — प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्। गुरुङले आज…

Leave a Reply

Your email address will not be published. Required fields are marked *