- चैत्र २९, २०८२
- No Comment
- 35
विद्यार्थीको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ’ : महासचिव विप्लव

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विद्यार्थी संगठनहरूलाई खारेज गर्ने सरकारी तयारीप्रति कडा आपत्ति जनाउँदै आन्दोलनरत विद्यार्थीहरूको पक्षमा ऐक्यबद्धता प्रकट गरेका छन्। आइतबार सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विप्लवले सरकारको यो कदमलाई ‘निरंकुश प्रवृत्तिको पराकाष्ठा’ को रूपमा टिप्पणी गरेका हुन्। उनले नेपालका हरेक राजनीतिक परिवर्तन र न्यायपूर्ण आन्दोलनमा विद्यार्थीहरूको भूमिका अग्रस्थानमा रहेको स्मरण गराउँदै सरकारको यस्तो सोचले लोकतान्त्रिक मूल्य-मान्यताको उपहास गरेको उल्लेख गरे। सरकारलाई चेतावनी दिने क्रममा महासचिव विप्लवले विद्यार्थी संगठनहरू सचेतता र विद्रोहका बाहक भएको बताएका छन्। उनले अगाडि भनेका छन्, “जुन शक्तिको जगमा टेकेर सरकार बनेको छ, उसैको अस्तित्व मेटाउन खोज्नु आत्मघाती कदम हो। यदि सरकारले जबरजस्ती निरंकुशता लाद्न खोजेमा विद्यार्थीको शक्तिले सरकारको जरो नै उखेल्ने निश्चित छ।” विद्यार्थी संगठनहरूले घोषणा गरेका विरोधका कार्यक्रमहरूलाई सशक्त बनाउन आह्वान गर्दै उनले आफ्नो पार्टीको पूर्ण समर्थन रहने प्रतिबद्धता समेत दोहोर्याएका छन्।



