- चैत्र २, २०८२
- No Comment
- 37
सुर्खेतमा दुई छोराछोरीसहित एक महिला बेपत्ता, भेरी नदी किनारमा भेटिए लुगा र मोबाइल

सुर्खेत, २ चैत । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १२ पिप्लेबाट एकै परिवारका तीन जना सदस्य बेपत्ता भएका छन् । आइतबार बिहानदेखि ३८ वर्षीया माया कठायत आफ्ना दुई नाबालक छोराछोरीसहित सम्पर्कविहीन भएकी हुन् ।
स्थानीयका अनुसार चैत १ गते बिहान करिब ७:०० बजेको समयमा ३८ वर्षीया माया, उनकी ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षीय छोरा दिपक कठायत घरबाट निस्किएका थिए । अबेरसम्म उनीहरू घर नफर्किएपछि मायाका ३७ वर्षीय श्रीमान भूपेन्द्र कठायतले बेलुका ६:०० बजे प्रहरी चौकी गुमीमा खबर गरेका थिए ।
हुलीया र जानकारी प्राप्त हुनासाथ प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमाण्डमा खटिएको प्रहरी टोली, वडा अध्यक्ष र स्थानीय बासिन्दाको संयुक्त टोलीले खोजी कार्य सुरु गरेको थियो । खोजी गर्ने क्रममा घरदेखि करिब ३ किलोमिटर टाढा रहेको भेरी नदीको किनारमा बेपत्ता मायाले प्रयोग गरेको झोला, सल, चप्पल र एक थान मोबाइल फेला परेको छ ।
नदी किनारमा सामान फेला परेपछि उनीहरू नदीमा डुबेको हुनसक्ने आशङ्कामा प्रहरीले खोजी कार्यलाई झनै तीव्र पारेको छ । हाल इलाका प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीहरूबाट खटिएका ३५ जना प्रहरी तथा स्थानीय व्यक्तिहरू मिलेर भेरी नदी आसपासका क्षेत्रमा निरन्तर खोजतलास गरिरहेका छन् ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाउँदै कसैले फेला पारेमा वा कुनै जानकारी प्राप्त भएमा तुरुन्त नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।



