- फाल्गुन १९, २०८२
- No Comment
- 18
के हो मिर्गौला क्यान्सर, यो किन हुन्छ ?
काठमाडौं । हाम्रो शरीर स–साना कोषिकाहरू मिलेर बनेको हुन्छ। शरीरको विकास र मर्मतका क्रममा कोषिकाहरू निश्चित नियन्त्रणमा विभाजित हुन्छन्। तर जब कोषिकाहरू अनियन्त्रित रूपमा बढ्न वा विभाजित हुन थाल्छन्, त्यही अवस्थालाई क्यान्सर भनिन्छ। टाउकोदेखि खुट्टासम्म शरीरका जुनसुकै भित्री वा बाहिरी अंगमा क्यान्सर हुन सक्छ।
विश्वभर तथा नेपालमा पनि क्यान्सरका बिरामीको संख्या बढ्दो क्रममा रहेको छ। ग्लोबोकेन २०२० को तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिब २० हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन्। पुरुषहरूमा फोक्सोको क्यान्सर तथा महिलाहरूमा स्तन र पाठेघरको क्यान्सर बढी देखिने गरेको छ। पछिल्लो समय मिर्गौलाको क्यान्सरका बिरामीसमेत बढ्दै गएको चिकित्सकहरू बताउँछन्।
के हो मिर्गौला क्यान्सर ?
मिर्गौला (Kidney) हाम्रो शरीरको महत्वपूर्ण अंग हो, जसले रगत फिल्टर गर्ने, फोहोर पदार्थ हटाउने र तरल पदार्थ सन्तुलनमा राख्ने काम गर्छ। मिर्गौलाका कोषिकाहरू आवश्यकभन्दा बढी वा अनियन्त्रित रूपमा विभाजित हुन थालेमा मिर्गौला क्यान्सर हुन्छ। चिकित्सकीय भाषामा यसलाई Renal cell carcinoma पनि भनिन्छ, जुन मिर्गौला क्यान्सरको सबैभन्दा सामान्य प्रकार हो।
अन्य क्यान्सरझैँ मिर्गौला क्यान्सरका पनि विभिन्न चरण (स्टेज) हुन्छन्।
-
पहिलो, दोस्रो र तेस्रो चरण: क्यान्सर मिर्गौलाभित्र सीमित हुन्छ वा वरिपरि मात्र फैलिएको हुन्छ। शल्यक्रिया (अपरेशन) गरेर उपचार सम्भव हुन्छ।
-
चौथो चरण: क्यान्सरका कोषिकाहरू शरीरका अन्य भागमा फैलिसकेको हुन्छ। यस्तो अवस्थामा शल्यक्रियामात्र पर्याप्त हुँदैन।
चौथो चरणमा अन्य क्यान्सरमा जस्तै केमोथेरापी प्रयोग गरिए पनि मिर्गौला क्यान्सरमा प्रायः ‘टार्गेटेड थेरापी’ वा ‘इम्युनोथेरापी’ जस्ता उपचार विधि अपनाइन्छ।
मिर्गौला क्यान्सर किन हुन्छ ?
विशेषज्ञका अनुसार निम्न कारणहरू जोखिम कारक मानिन्छन् :
-
अस्वस्थकर खानपान
-
अव्यवस्थित जीवनशैली
-
धुम्रपान तथा मद्यपान
-
मोटोपना
-
उच्च रक्तचाप
-
वंशाणुगत कारण
-
केही रसायन (जस्तै जुत्ता–चप्पल कारखानामा प्रयोग हुने पदार्थ) सँग लामो सम्पर्क
लक्षणहरू
मिर्गौला क्यान्सर प्रारम्भिक अवस्थामा प्रायः स्पष्ट लक्षण नदेखिन सक्छ। तर रोग बढ्दै जाँदा निम्न लक्षण देखिन सक्छन् :
-
कम्मर वा पेटको एकातिर दुखाइ
-
पिसाबमा रगत देखिनु
-
अनावश्यक तौल घट्नु
-
लामो समयसम्म ज्वरो आउनु
-
अत्यधिक थकान
-
लगातार खोकी (यदि अन्य अंगमा फैलिएको छ भने)
विश्वस्तरमा मिर्गौला क्यान्सर प्रायः ९ वा १० औँ स्थानमा पर्ने क्यान्सरमध्ये एक हो। नेपालमा पनि यसको अवस्था करिब यस्तै रहेको छ। अन्य क्यान्सरको तुलनामा कम देखिने भएकाले समुदाय स्तरमा यसबारे जनचेतना अझै पर्याप्त छैन।