जाडोमा बढ्छ हृदयाघात र स्ट्रोक को जोखिम, यस्ता सावधानी अपनाउनुहाेस  

काठमाडौं । जाडो मौसम सुरु भएसँगै हृदयाघात र स्ट्रोकका घटनामा वृद्धि देखिने चिकित्सकहरू बताउँछन्। चिसो तापक्रमका कारण रक्तनलीहरू खुम्चिने, रक्तचाप बढ्ने र रगतको प्रवाह प्रभावित हुने हुँदा मुटु तथा मस्तिष्कमा असर पर्न सक्छ। विशेषगरी बिहान सबेरै वा राति न्यानो ओछ्यानबाट अचानक उठ्दा जोखिम अझ बढ्ने चिकित्सकहरूको सुझाव छ।

चिसो मौसममा शरीरले तापक्रम जोगाउन रक्तनली संकुचित गर्छ। यसले रक्तचाप बढाउँछ र मुटुमाथि अतिरिक्त दबाब पर्छ। रगत केही बाक्लो हुने भएकाले अचानक उठ्दा मुटु र मस्तिष्कमा पर्याप्त रगत नपुग्ने अवस्था सिर्जना हुन सक्छ, जसले हृदयाघात वा स्ट्रोक निम्त्याउन सक्छ।

कसरी उठ्ने?

  • बिहान उठ्दा तुरुन्तै नउठ्नुहोस्।

  • पहिले ओछ्यानमा बस्नुहोस् (२०–३० सेकेन्ड)।

  • त्यसपछि खुट्टा करिब १ मिनेट झुण्ड्याएर राख्नुहोस्।

  • न्यानो कपडा (ज्याकेट/स्वेटर) लगाएर मात्र विस्तारै उठ्नुहोस्।

यसरी गर्दा रक्त परिसंचरण सहज हुन्छ।

जाडोमा देखिन सक्ने चेतावनी संकेत

  • उच्च रक्तचाप

  • उच्च रक्त शर्करा

  • उच्च कोलेस्ट्रोल

  • छाती दुख्ने

  • अत्यधिक पसिना आउने

  • टाउको भारी हुनु वा अचानक कमजोरी महसुस हुनु

यस्ता लक्षण देखिए तुरुन्त चिकित्सकसँग परामर्श लिन आग्रह गरिएको छ।

मुटुको क्षमता जाँच्ने सामान्य उपाय

  • १ मिनेटमा ५०–६० सिँढी चढ्न सकिन्छ कि जाँच गर्नुहोस्।

  • लगातार २० सिट-अप गर्न सकिन्छ कि प्रयास गर्नुहोस्।

  • ग्रिप टेस्ट (जारको ढक्कन खोल्ने) गरी हातको शक्ति आँकलन गर्नुहोस्।

बच्ने उपाय

  • धूम्रपान र मदिरा सेवन त्याग्नुहोस्।

  • जंक फुडको सट्टा सन्तुलित आहार लिनुहोस्।

  • दैनिक योग, प्राणायाम तथा कम्तीमा ३० मिनेट हिँडडुल गर्नुहोस्।

  • तनाव व्यवस्थापन गर्न समस्या परिवार वा साथीहरूसँग साझा गर्नुहोस्।

आवश्यक स्वास्थ्य परीक्षण

  • महिनामा एकपटक रक्तचाप जाँच

  • ३ महिनामा रक्त शर्करा परीक्षण

  • ६ महिनामा कोलेस्ट्रोल जाँच

  • वर्षमा एकपटक पूर्ण स्वास्थ्य परीक्षण

स्वस्थ हृदयका लागि आहार सुझाव

  • पर्याप्त पानी पिउनुहोस्।

  • नुन र चिनीको मात्रा घटाउनुहोस्।

  • फाइबर, होल ग्रेन, नट्स र प्रोटिनयुक्त खाना सेवन गर्नुहोस्।

  • दैनिक १५ मिनेट माइक्रो एक्सरसाइज अपनाउनुहोस्।

चिकित्सकहरूका अनुसार सचेत जीवनशैली, नियमित स्वास्थ्य परीक्षण र जाडोमा विशेष सावधानी अपनाएमा हृदयाघात तथा स्ट्रोकको जोखिम धेरै हदसम्म घटाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *